इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील दाहालसहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका छन् ।
सवारी दुर्घटनाको घटनामा आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरेको पाइएपछि दाहालसहित काँकडभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी र जीवन मैनाली कारबाहीमा परेका हुन् ।
१ नं. प्रहरी कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार बिसीले तीन जनालाई रेकर्डमा जनिने गरी नसिहत दिइएको बताए ।
प्रदेश नं. १ प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पुरीको अध्यक्षतामा बनाएको तीन सदस्यीय छानविन समितिले उनीहरुले आर्थिक लाभ लिएको विषय पुष्टि गर्न नसके पनि नक्कली चालक खडा गरिएको चाहिँ पुष्टि भएकाले कारबाही गर्न सिफारिस गरेको समाचारस्रोतको दाबी छ।
स्रोतका अनुसार, २०७८ साल बैशाख ९ गते झापाको मेचीनगर नगरपालिका–८, मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीय वाङ्ठु भन्ने झुलु मेचेलाई ठक्कर दिएको थियो ।
घटनामा कारबाही प्रक्रिया अघि बढाउँदा डीएसपी दाहालसहितको संलग्नतामा नक्कली चालक खडा गरिएको भन्दै गृह मन्त्रालयमा सुरुमा उजुरी परेको थियो । मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय, नक्साल हुँदै छानविनका लागि प्रदेश प्रहरी कार्यालयलाई पत्राचार भएको थियो । उजुरीमा उनीहरुले ६ लाख रुपैयाँ लिएर नक्कली चालक खडा गरेको दाबी गरिएको थियो ।