पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भरतप्रसाद कुर्मीसहित ६ जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
वडाध्यक्ष कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडासदस्यद्वय रफिक अन्सारी, सञ्जयकुमार पटेल र कार्यालय सहयोगी जितेन्द्रकुमार कुर्मीविरूद्ध मुद्दा दायर गरेको हो।
घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका राजश्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखेर चलानी किताब कुनै पनि राजश्व चलानी नराखी राजश्व रकम हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
उजुरीमा वडाध्यक्ष भरतप्रसाद र कार्यालय सहयोगी जितेन्द्रप्रसादले मिलेमतो रहेको उल्लेख थियो।
अख्तियारले त्यस उजुरीमाथि अनुसन्धान गर्दा ६ जनाको संलग्नता देखिएको जनाएको छ।
चौहद्दी प्रमाणित, घरबाटो सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतमा एकभन्दा बढी चलानी गरी, चलानी नगरी, लिनुपर्ने राजश्व नलिई, लिनुपर्ने भन्दा घटी/बढी राजश्व लिएर तथा आम्दानी रसिद नकाटी आर्थिक अनियमितता गरेको अनुसन्धानबाट खुलेको हो।
दाखिल गर्नुपर्ने राजश्व समेत नगरेको पाइएको हुँदा वडाध्यक्ष भरतप्रसाद, रफिक, सञ्जयकुमार र जितेन्द्रकुमारको हकमा आफ्नो कार्य अवधिमा एक लाख २ हजार ५८५ हिनामिना गरेको अख्तियार प्रवक्ता भण्डारीले बताए।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र बिगोको दोब्बर जरिवाना माग गरेको छ।
वडासचिव अनामिकाको हकमा उनले २०७६ साल मंसिर १९ गतेदेखि २०७८ असार ३१ गतेसम्म कार्यरत रहेको अवधिमा एक लाख ३१ हजार ९० रुपैयाँ हिनामिना गरी राजश्व चुहावट गरेको पुष्टि भएको अख्तियारको दाबी छ। उनीमाथि पनि बिगोको दोब्बर जरिवाना र कैद सजाय माग गरिएको छ।
यस्तै, वडासचिव राजकुमारको हकमा भने २०७७ चैत ५ गतेदेखि हालसम्म ३२ हजार २३५ रुपैयाँ हिनामिना गरेको पुष्टि भएकोले सोही ऐन अन्तर्गत दोब्बर जरिवाना र कैद सजायको माग अख्तियारले गरेको छ।