भ्रष्टाचार अभियोग प्रमाणित सुरेन्द्रप्रसाद सिंह कांग्रेस सर्लाहीको जिल्ला सभापति निर्वाचित भएका छन् ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका सिंह आइतबार सम्पन्न नेपाली कांग्रेस सर्लाहीको निर्वाचनमा सभापति पदमा निर्वाचित भएका हुन्। अद्यापि अहिले सिंहबिरुद्धको भ्रस्टाचार मुद्दा सर्बोच्च अदालतमा विचाराधीन छ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका सिंहले आइतबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी लक्ष्मण रायलाई तीन सय ८० मतान्तरले जितेका हुन् । सिंहले एक हजार सात् सय ५८ र रायले एक हजार तीन सय ७८ मत ल्याए । सिंह यसअघि जिल्ला उपसभापति थिए । उनलाई विशेष अदालतले एक करोड २३ लाख रुपैयाँ जरिवाना र नौ महिना कैद सजाय तोकेको छ ।
सर्लाहीको मनसुरा सिँचाइ आयोजना वरपरका करिब १८ हजार सालका रूख कटान गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले २०७१ पुसमा सिंहलाई दोषी ठहर गरेको थियो । अहिले यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सिंह २०५० मा आयोजनाको मानपुर ब्यारेज नहर खण्डको निर्माण उपभोक्ता समितिका अध्यक्ष भएका थिए ।