यूएईस्थित नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेको आरोपमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डे तीन महिनाका लागि जेल चलान भएका छन्।
यूएईको अदालतले उनलाई दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय सुनाएपछि उनी हेल चलान भएका हुन् ।
उनीविरुद्ध यूएई अदालतले गत मंगलबार तीन महिना कैद र करिब सात लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । यूएईमा बसेर रोजगारीसँगै पत्रकारिता गर्दै आएका पाण्डेको सबै सामग्री जफत हुने, सामाजिक सञ्जाल फेसबुकसमेत बन्द गरिने र सजाय भुक्तानपछि यूएई सरकारले देश निकाला (डिपोट) गर्ने फैसला सुनाएको छ।
यूएईको कानुनअनुसार अदालतको फैसला चित्त नबुझे फैसला भएको १४ दिनसम्म अदालतविरुद्ध अपिल गर्न सकिन्छ । गत जनवरी ७ अर्थात् पुस २३ गते पाण्डेले नेपालमै हुँदा सामाजिक सञ्जालमा भिजिट भिसामा यूएईस्थित नेपाली दूतावास संलग्नता रहेको भन्ने आशयमा स्टाटस लेखेका थिए। त्यसलगत्तै रुष्ट दूतावासका कर्मचारीले स्थानीय निकायमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई प्रहरीले गत ३ फागुनमा पक्राउ गरेको थियो । लगत्तै साइबर क्राइमको मुद्दा लगाई अबुधावीस्थित अनुसन्धानको लागि अल वाथ्बा जेलमा राखिएको थियो ।