पोखराका दुई वटा कुखुरा फर्ममा बर्डफ्लु देखिएको छ। पोखरा महानगरपालिका वडा नम्बर १५ निवादी खुसीमान गुरुङ र वडा नम्बर १७ का खेमबहादुर क्षेत्रीले संचालन गरेको कुखुरा फर्ममा र्डफ्लु देखिएको हो ।
पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
आफ्नो फर्ममा रहेका कुखुरा धमाधम मर्न थालेपछि पोखरा १५ का खुसीमान गुरुङले गएको फागुन ६ गते त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याइएको थियो। पोखरामा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो ।
खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उनको फर्ममा रहेका कुखुरामा पनि बर्डफ्लु लागेको पुष्टि भएको प्राप्त जानकारीमा उल्लेख छ।
रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पन्छी जन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा. गृष्म न्यौपानेले जानकारी दिए । नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट ती दुइ ठाउलाई प्रभावित क्षेत्र घोषित गरिएको पनि न्यौपानेले बताए।
योसँगै बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सँधै बर्डफ्लुको उच्च जोखिममा छ । केही वर्षअघि पनि पोखरा १४ को मझेरीपाटन (अहिले देखिएकै ठाउँ नजिक) मा संक्रमण फैलिएको थियो । तीन वर्षअघि मादी गाउँपालिकामा देखिएको थियो ।