बिना कसुर झुट्ठा मुद्दा लगाएर ३० महिनासम्म जेल जीवन बिताएका सैनिक जवान लवकुमार गुरुङले आफु बिरुद्ध झुट्ठा मुद्दा लगाउने चार जना सैनिक अधिकृत बिरुद्ध मुद्दा दर्ता गरेका छन्।
हालै अदालतले निर्दोष ठहर गर्दै जेलमुक्त गरेपछि आइतबार उनले सरकारी वकिलको कार्यालय चितवन भरतपुरमार्फत आफु बिरुद्ध झुट्ठा मुद्दा लगाउने तात्कालिन कालीबहादुर गणमा कार्यरत महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्वय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी लिन नमानेपछि उनले आइतबार सरकारी वकिलको कार्यालय चितवन मार्फत जाहेरी दर्ता गराएका हुन्। उनी न्यायका लागि एड्भोकेसी फोरम नेपालका कानुन अधिकृत अधिवक्ता कुमारप्रसाद थपलियालाई लिएर सरकारी वकिलको कार्यालय पुगेका थिए।
सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि अदालतले निर्दोष साबित गरिदिए पछि सैनिक जवान लवकुमार गुरूङ २०७८ भदौ १८ गते भरतपुर कारागारबाट रिहा भएका थिए। गणको सैनिक हिरासतभित्र रहँदा मानसिक र शारीरिक यातना दिएर जबर्जस्ती आफूलाई दोषी ठहर्याइएको उनले जाहेरीमा उल्लेख गरेका छन्।
लवकुमारले आफूलाई पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर असह्य पीडा हुने गरी कुटपिट गरिएको, कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइएको किटानी जाहेरीमा उल्लेख गरेका छन्। अनुसन्धानकै क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट खुर्सानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइएको पनि उनले उल्लेख गरेका छन्।
कसुर स्वीकार नगरे श्रीमतीलाई भारतको बम्बई लगेर बेचिदिन्छु, त्यही पैसाले हराएको हतियार किन्छु भनेर धम्क्याउँदै मानसिक यातना दिने गरेको उनको आरोप छ। उक्त सजायका कारण आफू अहिले मानसिक तथा शारीरिक रूपमै विक्षिप्त भएको उनले बताए। बस्न, सुत्न र उठ्न अरूको सहारा आवश्यक पर्ने अवस्थामा पुगेको भन्दै उनले सेनाले लगाउने पहिरन देख्दा पनि मन आत्तिने गरेको बताए।
उनले जाहेरीमा निर्दाेष व्यक्तिलाई दोषी साबित गरी कारबाही गराएर मानहानि गरेको भन्दै दोषीमाथि हदैसम्म कारबाही र क्षतिपूर्तिसमेत माग गरेको बताएका छन्। जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले लवकुमारले दिएको जाहेरीलाई सम्बन्धित गणमा पठाइएको बताए।
सेनाका चार अधिकृतविरुद्ध जाहेरी दिए पछि लवकुमार गुरूङ (दायाँ)।उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९, हँडिया स्थायी घर भई तत्कालीन समयमा काली बहादुर गणमा कार्यरत गुरूङलाई ‘केआर १००७९३’ एसएमजी (सर्ट मेसिनगन) चोरी गरेको अभियोगमा २०७५ पुस २ गते हिरासतमा राखिएको थियो। उनीसँगै सिपाही सरोज गुरूङ र चुबी गुरूङलाई पनि सोही अभियोगमा हिरासतमा राखिएको थियो। समरी अदालतबाट कारागार चलान भएका लवकुमारलाई १० र सरोजलाई ७ वर्ष जेल सजाय तोकिएको थियो। चुबीलाई भने सेवाबाटै बर्खास्त गरिएको थियो।
कालीबहादुर गणबाट हराएको हतियार अर्कै व्यक्तिले चोरी गरेको खुलेपछि उनीहरूले सफाइ पाएका थिए। काठमाडौंको दी फेमस महिन्द्र दल गणमा कार्यरत नीलकण्ठ–१०, धादिङका भरत गुरूङको हत्या अनुसन्धान क्रममा उक्त हतियार सोही गणका गंगाधर ढकालले चोरी गरेको पाइएपछि सैनिक अदालतको फैसला गलत साबित भएको थियो। चितवन घर भएका ढकाल विगतमा कालीबहादुर गणमा काम गरेर दी फेमस महिन्द्र दल गणमा सरूवा भएका थिए।
गत साउन ७ गते बिहान भरतपुर–१७ स्थित नालामा गोली लागेको अवस्थामा भरत गुरूङको शव फेला परेको थियो। भरतको हत्या आरोपमा चितवन प्रहरीले ढकाललाई भरतपुर महानगरपालिकाको चनौली बजारबाट पक्राउ गरेर अनुसन्धान गर्दा हत्यामा ‘केआर १००७९३’ एसएमजी नै प्रयोग भएको देखिएको थियो।
ढकालले बयान क्रममा उक्त हतियार र गोली कालीबहादुर गणबाटै चोरेर ल्याएको स्वीकारेका थिए। साथै, सोही हतियार चोरीको अभियोगमा जेलमा रहेका कसैलाई नचिनेको बयान उनले दिएका थिए।
२०७८ साउन ७ गते गंगाधर ढकाल दोषी देखिएपछि लवकुमार जेलमुक्त भएका थिए। हत्या आरोप लागेका गंगाधर २५ वर्ष कैद सजाय पाएर हाल कारागारमा छन्। लवकुमार भने २०७८ पुस १ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएर बसेका छन्। उनीसँगै छुटेका तामाङ गणमै कार्यरत छन्।