पार्टी महाधिबेशनको म्यान्डेट विपरीत राष्ट्रघाती भनिएको एमसीसी सम्झौता संसदबाट पारित गराएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीभित्र रहेका एमसीसी बिरोधी पक्षधरहरुबिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन्।
नेकपा (माओवादी केन्द्र) ले आज खुमलटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीभित्र रहेका एमसीसी बिरोधी पक्षधरहरुबिरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत गरेका हुन्।
संसदबाट एमसीसी सम्झौता पारित भएकोमा असन्तुष्टि जनाउदै आएका पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठ प्रति आक्रोश पोख्दै पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले “बाहिर नबोल्ने भन्दा भन्दै बोल्दै हिंडेको”मा पार्टी प्रबक्ता श्रेष्ठको आलोचना गरे।
उनले प्रबक्ता श्रेष्ठ प्रति संकेत गर्दै पार्टी नीति र निर्णय बिरुद्ध बोल्ने हो भने आफ्नो पार्टी छाडेर सक्ने बताउदै एमसीसी व्याख्यात्मक विश्लेषणसहित अनुमोदन भएकाले ठिक भन्दै पार्टीभित्र विरोध गर्नेहरुले आफ्नो बाटो लाग्न सक्ने बताए । उनले अघि भने, “‘नारायणकाजी कमरेडेलाई सबै कार्यकर्ता यतै आउलान् सबै जनता यतै आउलान् भन्ने लाग्यो होला,’ प्रचण्डले भने,‘आफ्नो बाटोमा लाग्न मन लाग्यो होला, कसैले रोक्न सक्दैन ।’
विगतमा महाकाली सन्धी गर्दा विरोध गरेका बामदेव गौतमको उदाहरण दिदै प्रचण्डले अघि भने,‘महाकाली सन्धीको विरोधमा आधा केन्द्रीय सदस्य लिएर जानुभयो बामदेवजी तर चुनावमा सुन्य, कुनै सिट जित्न सक्नुभएन ।’ सेन्टिमेन्टमा आएर मात्र नहुने भन्दै उनले एमसीसी अनुमोदनको आफ्नो निर्णयको बचाऊ गरिरहे ।
नेकपा छँदा नौजना सचिवालयमध्ये सातजना पास गर्न नहुने पक्षमा र दुई जना पास गर्नुपर्ने पक्षमा भएको खुलासा गरे । ओलीले सभामुख र १४ सांसद हटाउन खोजेपछि आफू एमसीसी पारित गरेर अगाडि बढ्न अवस्थामा आएको बताए । उनले भने,‘धेरै चीज उल्टने खतरा देख्यौं, उपाय खोज्नुपर्छ भनेर संसदबाट अगाडि बढ्यौं ।’
प्रचण्डले गठबन्धन तोडेर शान्ति सम्झौतालाई दुर्घटनामा पार्न खोजिएको बताए । आफूले सही ढंगले अवस्थालाई सम्हालेर दुर्घटना जोगाएको बताए ।