सन् २०१८ मा गरिएको बाघ गणनामा देशैभर बाघको सङ्ख्या बढ्दा बाघको प्रमुख वासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या घटेको देखिएको छ।
सन् २०१८ मा बाघको गणना हुँदा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा एकसय २० र सन् २००९ को गणनामा ९१ वटा बाघ रहेको पाइएको छ ।
पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सन् २००८ सम्म एउटामात्रै बाघ भएको नेपाल भारत सिमा क्षेत्रको वाल्मीकिमा भने बाघको सङ्ख्या बढेर २०१८ को गणनामा ३० भन्दा माथि पुगेको पाइन्छ ।
प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार, वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा भेटिएका थिए । चितवन राष्ट्रिय निकुञ्ज र नेपाल भारत सीमास्थित बाल्मिकी निकुन्जमा सन् २०१३ को बाघ गणनामा क्यामरा ट्र्यापिङमार्फत गरिएको बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जका चार वटा बाघ बाल्मीकी निकुञ्जमा देखिएका थिए। चितवनका बाघ चुरे पहाड हुँदै भारतको सीमाक्षेत्रमा रहेको वाल्मीकि पुग्ने गरेको बताइन्छ ।
सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएका छन् । संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने अन्य तथ्यले पनि बाघ बिस्तारै भारतीय भूमिमा पुगेको देखिएको बताउछन।
त्रिवेणीवारि वाल्मीकि आश्रमदेखि माडीको सोमेश्वर पहाडसम्म चितवन राष्ट्रिय निकुञ्ज र वाल्मीकि बाघ संरक्षण केन्द्र जोडिएको छ । विश्व वन्यजन्तु कोषअन्तर्गत रहेको तराई भूपरिधि कार्यक्रमका परामर्शदाता रामप्रीत यादव चितवनका बाघ वाल्मीकि बाघ संरक्षण केन्द्रतिर सर्ने गरेको स्वीकार्छन। चितवनभन्दा वाल्मीकिमा बाघका लागि उपयुक्त वातावरण र पर्याप्त क्षेत्रफल बनाउँदै लगिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य पनि बाघका लागि आहाराजन्य जनावर घट्दै जानु बाघ बसाइँ सराइको समस्या भएको तर्क गर्छन । उनी अघि थप्छन “चितवन राष्ट्रिय निकुञ्जमा बढ्दो अतिक्रमण, मानवीय चापकै कारण पनि बाघको वासस्थानमा असर गरिरहेको छ। ,”
हालै गरिएको एक सर्वेक्षणअनुसार नौसय ५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघको आहाराजन्य जनावर प्रतिवर्ग किलोमिटरमा ७२ वटा भेटिएका छन् । बाघको प्रमुख आहारा वन्यजन्तुमा मृग, बँदेल, जरायो, चित्तलजस्ता जनावर हुन् ।