नेपाली दूतावासको उजुरीमा नेपाली पत्रकार पाण्डे युएईमा पक्राउ

नेपाली दूतावासको उजुरीमा नेपाली पत्रकार पाण्डे युएईमा पक्राउ


  • जन संचार
  • बुधबार, ११ फाल्गुन २०७८
  • 5.1K
    Shares

पत्रकार उमाकान्त पाण्डे

वैदेशिक रोजगारीमा रहेर यूएईबाट पत्रकारिता गर्दै आएका पत्रकार उमाकान्त पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेको छ ।

नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासकै उजुरीका आधारमा  युएई प्रहरीले उनलाई पक्राउ गरेको हो।

पाण्डेले नेपालमा रहदा जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा दूतावासमार्फत भिजिट भिसाको प्रोत्साहन भएको र दूतावासभित्र हुने गरेका गलत कुराहरूको आफूसँग प्रमाण रहेको लेखेका थिए । त्यसपछि दूतावासका कर्मचारी र पाण्डेबीच लामो बहस र चर्काचर्की भएको थियो ।

युएईस्थित नेपाली दूतावासका कर्मचारीले दायर गरेको साइबर अपराध मुद्दाअन्तर्गत आफूलाई पक्राउ गरिएको उनले हिरासतकक्षबाटै परिवारका सदस्यलाई जानकारी दिएका छन् ।

उमाकान्त पाण्डे एक सातादेखि अबुधाबीको जेलमा छन् । दुबई प्रहरीले पक्राउ गरी उनलाई अबुधाबीस्थित अल वाथ्बा जेलमा राखेको परिवारका सदस्यले बताएका छन् । करिब एक दशकदेखि युएईमा बस्दै आएका अर्घाखाँचीका पाण्डेलाई फागुन ३ गते युएईको प्रशासनले बोलाएको थियो।

सोहीअनुसार पाण्डे प्रशासन कार्यालय पुगेका थिए । त्यसलगत्तै बेपत्ता भएका उनी फागुन ४ गते परिवारका सदस्यसँग सम्पर्कमा आएका थिए । टेलिफोनमार्फत सम्पर्कमा आएका उनले आफू अबुधाबीको अल वाथ्बा जेलमा रहेको जानकारी दिँदै ‘दूतावासले मुद्दा फिर्ता लिएमा आफू छुट्ने, नत्र डिपोर्ट हुन सक्ने’ बताएका थिए । पाण्डेका श्रीमती र एक छोरा युएईमै छन् ।

युएईका लागि नेपाली राजदूत कृष्ण ढकालले बाहिर आएजस्तो पत्रकार उमाकान्त पाण्डेविरुद्ध  दूतावासले कुनै पनि मुद्दा दर्ता नगरेको दाबी गरे । पाण्डेको विषयमा जानकारी आएपछि दूतावासले निरन्तर उनको खोजी गरिरहेको बताए । युएईको विदेश मन्त्रालयमा सम्पर्क भएको र अनुसन्धानका क्रममा भएकाले पूर्ण विवरण पाउन नसकेको ढकालको भनाइ छ ।

यसैबीच नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकार पाण्डेको रिहाइको माग गरेको छ।

नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरित हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।

महासंघले यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया