देउबाले ओली भेटे : देउबाद्वार एमसीसी पारित गर्न ओलीसंग अनुरोध, ओलीको अडान कायमै

देउबाले ओली भेटे : देउबाद्वार एमसीसी पारित गर्न ओलीसंग अनुरोध, ओलीको अडान कायमै


  • जन संचार
  • बुधबार, ११ फाल्गुन २०७८
  • 2K
    Shares

सरकारले एमसीसी सम्झौता संसद्मा टेबल गरेपनि अनुमोदनका लागि सत्ता गठबन्धनमै सहमति जुटेको छैन । सत्ता साझेदार दलहरूले नै यथास्थितिमा एमसीसी पास गर्न नसकिने र अघि बढाए विपक्षमा मतदान गर्ने अडानमा कसेका छन् ।

गठबन्धन जोगाउने वा एमसीसीको पक्षमा मतदान गर्ने भन्नेबारे ती दलभित्र चर्को मतभेद छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी संसद्बाट अनुमोदन गराउने बचनबाट पछि हटेका छैनन् ।

प्रधानमन्त्री देउवा सकेसम्म गठबन्धनभित्रै सहमति जुटाउने, नभए गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदन गराउने तयारीमा छन् । सत्तारुढ गठबन्धनबाट एमसीसी सम्झौता पारित गराउने र गठबन्धन जोगाउने सम्भावना कम हुँदै गएपछि प्रधानमन्त्री देउबा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई साथ लिएर भए पनि एमसीसी संसदबाट पारित गराउने प्रयासमा लागेका छन्।

जसै गरे पनि संसदबाट एमसीसी सम्झौता पारित गराई छाड्ने अडानमा रहेका प्रधानमन्त्री देउबाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। त्यस भेटमा प्रम देउबाले एमाले अध्यक्ष ओलीसंग एमसीसी सम्झौता संसदबाट पारित गराउन सहयोग गरिदिन अनुरोध गरेका थिए।

प्रधानमन्त्री देउबाको अनुरोध पछि ओलीले आफ्नो पुरानो अडान दोहोर्याएको समाचार स्रोतको दाबी छ। अध्यक्ष ‌ओलीले एमालेले बिगत छ महिनादेखि कुनै पनि संसदीय प्रक्रियामा सहभागी नभएको कारण आफ्नो माग पूरा नहुन्जेल सहयोग हुन नसक्ने जानकारी गराएका थिए ।

भेटवार्ता अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।

प्रक्रियामा गएर एमसिसी संसदबाट टुंगिएपछि पास वा फेल जे भए पनि कांग्रेसले गठबन्धनलाई नै निरन्तरता दिन्छ भन्ने आश माओवादीमा अझै देखिन्छ। कांग्रेसका नेताहरू भने गठबन्धन भित्रबाटै एमसिसी पास हुन सक्छ कि भनेर अन्तिम प्रयास गरिरहेको र त्यो सम्भव नदेखिए संसदमा छलफल सुरू हुनुअघि नै एमालेसँग सहमति गर्ने दावी गर्छन्।

‘एमसिसी फेल हुने गरी मतदानमा लैजाने गल्ती कांग्रेसले गर्दैन,’ ती नेताले भने, ‘अहिले आएर एमसिसी फेल हुँदा कांग्रेसलाई ठूलो धक्का हुन्छ। त्यसैले संसदबाट एमसिसी पास हुने बाटो कांग्रेसले खोज्छ।’
एमालेले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै त्यसको विरोधमा संसद्‍मा नाराबाजी गर्दै आएको छ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारवाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै भदौ २३ गतेदेखि संसद अवरोध गर्दै आएको छ । एमालेले कि एकीकृत १४ जना सांसदलाई कारबाही हुनुपर्ने अन्यथा सभामुख अग्निप्रसाद सापकोटाले राजिनामा दिनुपर्ने माग राखेर संसद अवरोध गर्दै आएको छ।

सरकारले आइतबार प्रतिनिधिसभ बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्दा पनि एमाले सांसदहरूले रोष्ट्रममा नाराबाजी गरिरहे । नियमित प्रक्रयामै भाग लिएनन् ।

संसदको अर्को बैठक फागुन १२ गतेका लागि बोलाइएको छ । त्यो बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल थाल्ने र केही दिनमा अनुमोदन गर्ने सरकारी तयारी छ । तर सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षामा छन् ।

मंगलबारको भेटमा प्रधानमन्त्रीसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का थिए । नेकपा एमालेका तर्फबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रतिक्रिया