कास्की प्रशासनको अगाडी नै नक्कली कागजपत्रको कारोबार गर्ने गिरोह सक्रिय : पर्वत प्रहरीले पोखराबाट समात्यो तीन जना

कास्की प्रशासनको अगाडी नै नक्कली कागजपत्रको कारोबार गर्ने गिरोह सक्रिय : पर्वत प्रहरीले पोखराबाट समात्यो तीन जना


  • जन संचार
  • मंगलबार, १० फाल्गुन २०७८
  • 3.2K
    Shares

गण्डकी प्रदेशकै राजधानी पोखराको प्रशासनिक क्षेत्रमा नै नक्कली प्रमाणपत्रको कारोबार गर्ने सक्रिय रहेको रहस्य खुलेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएर आएको प्रहरी टोलीले नक्कली प्रमाणपत्र कारोबार गर्ने गिरोहलाई पोखराको राष्ट्र चोकबाट पक्राउ गरेर कुश्मा लगेपछि त्यस्तो रहस्य खुलेको हो।

पर्वतबाट आएको प्रहरी टोलीले पोखराको राष्ट्रबैंकचोकस्थित भुपु सैनिक अनलाईन सेवाबाट जिल्ला पर्वत महाशिला गाउपालिका वडा नं. २ भोक्सिङ स्थायी घर भई हाल पोखरा बस्ने बर्ष ३८ को रिम बहादुर हमाललाइ पक्राउ गरेको हो।

सो अनलाईन सेवाबाट प्रहरीले राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको भनिएको एसइई प्रमाणपत्र ५७ थान, मदरल्याण्ड सेकेन्डरी स्कुल पोखराको चारित्रिक प्रमाणपत्र एक थान, नेपाल प्रहरीले प्रदान गर्ने जस्तै नक्कली चारित्रिक प्रमाणपत्र एक थान, दुई थान मोबाइल, दुई थान मनिटर, एक थान किबोर्ड, एक थान प्रिन्टर, छ ओटा एटिएम कार्ड, प्रहरी प्रधान कार्यालयको स्ट्याम्प प्याड एक थान, जिल्ला प्रशासन कार्यालय कास्कीको स्ट्याम्प प्याड एक थान, जिल्ला प्रहरी कार्यालय लमजुङको स्ट्याम्प प्याड एक थान लगायतको बस्तुहरू बरामद गरेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट नाम र उमेर फरक पारेर जिल्ला प्रशासन कार्यालय पर्वतबाट दोश्रो नागरिकता लिदै गर्दा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका–११ पकुवा घर भएका २५ वर्षिय आशिष के.सीले पेश गरेको कागजपत्र नक्कली भएको प्रमाणित भएको थियो।

प्रहरीका अनुसार, अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतले ती कागजपत्रहरु सुर्खेतको चौकुने गाउँपालिका–५ स्थायी घर भई हाल पोखरामा बस्दै आएका बर्ष ३२ को तुलाराम नाम्जाली मगरले बनाइदिएको खुलेको थियो। त्यसपछि उनीविरुद्ध लिखत कसुर सम्बन्धी अभियोगमा मुद्दा दर्ता गरेको थियो।

लिखत कसुर सम्बन्धी अभियोगमा खोजी भैरहेका मगरलाई पर्वतबाट आएको प्रहरीले काठमाण्डौबाट बुद्ध एयरको फ्लाइट नम्बर छ सय पाँचमा आउँदै गरेको अवस्थामा पोखरा बिमानस्थलबाट पक्राउ गरेको थियो। पक्राउ परेका थिए। प्रहरीको नियन्त्रणमा परेका मगरले आशिष केसीको कागजपत्र राष्ट्रबैकचोकस्थित भुपु सैनिक अनलाईन सेवाबाट बनाएको खुलाई दिएका थिए। त्यसपछि मात्र प्रहरीले भुपु सैनिक अनलाईन सेवामा छापा मारेको थियो।

पर्वतका रिम बहादुर नेपाली सेनाको हवल्दार पदबाट निस्किएका पेन्सनर रहेको तथा तुलाराम पोखरा र सुर्खेतमा रहेका भर्ती प्रशिक्षण केन्द्रहरूमा बसेर प्रशिक्षकको रूपमा काम गरिरहेको पाइएको छ ।

भर्ती हुनका लागि पटक पटक असफल भएका युवाहरूलाई अन्तिम विकल्पको रूपमा कागजात किर्ते गर्ने उपाय बताएर सोही अनुसारको रकम सङ्कलन गर्ने गरेको अनुसन्धानमा खुलेको छ । पसलबाट बरामद भएका कागजातमा २०७४ सालसम्मका कागजात भेटिएका कारण कम्तीमा पनि चार वर्षदेखि उनीहरूले यो धन्दा गरिरहेको हुन सक्ने डिएसपी बुढाथोकीले बताए ।

अहिलेसम्म झन्डै दुई सयको हाराहारीमा त्यस्ता नक्कली प्रमाणपत्रहरू बनाएको र तीमध्येका ७०÷८० जना भर्ती पनि भइसकेको अभियुक्तहरूको भनाई उद्धृत गर्दै पर्वत प्रहरी बताउँछ । गिरोहले एकदेखि एक लाख ३० हजार सम्ममा उमेर घटाएर पहिले लिएको बाहेक नागरिकताको प्रमाणपत्र दोस्रो पटक पनि निकाल्न सघाउने गरेको बताइएको छ ।

प्रतिक्रिया