स्वास्थ्य मापदण्डको पालना गर्ने गरी कास्की जिल्लामा लकडाउन खुल्ला गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्डको पालना गर्ने गरी कास्की जिल्लामा लकडाउन खुल्ला गरिएको जनाएको छ।
कास्की जिल्लामा कोरोना सङ्क्रमणमा कमी आएको जिकिर गर्दै आज जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी बिज्ञप्तिमा यसअघि रोक लगाइएका व्यवसाथ तथा सेवा सञ्चालनको अनुमति दिएको छ ।
प्रशासनले सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके बजार, स्पा सेन्टर र व्यूटीपार्लरलगायत पेशा व्यवसाय खोल्न अनुमति दिएको हो । यसैगरी डान्सबार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेण्टलगायत रात्रीकालीन व्यवसाय तोकिएका स्वास्थ्य सुरक्षा मापण्ड पालना गरी राति १२ बजेसम्म सञ्चालन हुने गरी खुला गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
उनका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकले जिल्लामा थप सेवा तथा व्यवसाय सञ्चालन गर्ने सक्ने गरी अनुमति दिने निर्णयानुसार रात्रीकालीन व्यवसाय खुला गरिएको हो ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण रोकथाम तथा नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन भन्दै प्रशासनले गत पुस अन्तिम सातादेखि जिल्लामा निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
पछिल्लो समय कोरोना घट्दै गएपछि गत फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न प्रशासनले अनुमति दिएको थियो ।