एमसीसीबारे गठबन्धनमा भएन सहमति : एमसीसी टेबल गर्नुअघि संसदको अवरोध हट्नुपर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीको पुर्व शर्त

एमसीसीबारे गठबन्धनमा भएन सहमति : एमसीसी टेबल गर्नुअघि संसदको अवरोध हट्नुपर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीको पुर्व शर्त


  • जन संचार
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 2.7K
    Shares

सत्तारुढ गठबन्धन बैठक

एमसीसी बारे निर्णायक छलफल गर्न बिहिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । करिब दुई घण्टाभन्दा बढी चलेको बैठकमा एमसीसीबारे कुनै सहमति हुन नसकेको समाचार स्रोतले जानकारी दिएको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भोली १० बजे फेरि बस्नेगरी बैठक सकिएको बताए । कार्कीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने प्रस्ताव गरेका थिए । यसका लागि एमसीसी चाँडो टेबुल गर्नुपर्ने उनको भनाइ थियो । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु एमसीसी टेबुल गर्ने विषयमा सहमत भएनन् । उनीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने शर्त अगाडी सारेका थिए। अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै दुबै दलका नेताहरुले एमसीसीबारे पनि छलफल गर्नुपर्ने बताएका छन् । उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुलाई आग्रह गरेका छन् ।

बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा का‌ंग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए । नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको काेसिस गर्ने भन्दै ९ बजेका लागि बैठक तय भएको हाे । शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसको जोडबल छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानमा देखिए । तर सरकारले जबरजस्ती अघि बढ्न खोजे सरकार छाड्ने माओवादीको चेतावनी दिएको छ । बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका थिए  ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको छ ।

जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। आजको बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन । बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यका बाहिर भएकाले बैठकमा अनुपस्थित छन् ।

शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने तयारीमा रहेको प्रधानमन्त्री देउवाले कांग्रेसका नेताहरूमार्फत् प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरिरहेका छन् ।

सरकारले बुधबारको बैठकमै टेबल गर्न प्रस्ताव गरेपनि गठबन्धनभित्रको विवादले प्रधानमन्त्री देउवा अन्तिम समयमा एमसीसी टेबल गर्नबाट पछि हटेका थिए । गठबन्धनमा कांग्रेसबाहेक सबै दल एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया