सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको छ भने पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्।
थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी पन्त, कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीको लबिङ तीब्र छ । उनीहरुमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् । सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन् ।
यसैगरी आजको मन्त्री परिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले सिफारिश गरेका तीन जना मध्ये रमेश हमाललाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। सो पदमा छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।