चिनियाँ नागरिक चाई लुलाई रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ७० लाख रुपियाँ घुस लिएर बेपत्ता बनेका रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना बिरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । महोत्तरीको जलेश्वर नगरपालिकाका मिश्रले सेवाबाट अवकाश पाइसकेका छन्।
मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ ।
घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ मिश्रको छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ । अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी लिएको छ ।
वन अधिकृत मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैंले लिएको अनुसन्धानबाट थाहा भएको छ । ग्याल्जेनबिरुद्ध पनि २५ लाख बिगो मागदाबी लिएर मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।
चिनियाँ नागरिक चाई लुलाई रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ७० लाख रकम बुझेका रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्र सम्पर्कविहीन भएका थिए । शर्त अनुसार रक्तचन्दन नदिएको भन्दै अख्तियारमा परेको उजुरी छानबिनका क्रममा पटक–पटक म्याद तामेल भए पनि मिश्र उपस्थित नभएको भन्दै अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको थियो ।