एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न छ राजनीतिक दलहरुले आयोजना गरेको बन्दकाकारण जनजीवन प्रभावित बनेको छ भने यातायातका साधन, शैक्षिक संस्था सबै बन्द छन्।
यसैबीच प्राप्त जानकारी अनुसार, बन्दकै सिलसिलामा गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका-४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।
वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो निभाएका थिए। आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।
उता बन्द गराउने क्रममा काठमान्डौको कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गर्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ट्याक्सीमा पेट्रोल छर्केर आगो लगाउने कोशिश गर्दै गर्दा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् । बन्द गराउन निस्केका ६ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको एसपी मैनालीले बताए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आयोजना गरेका हुन् ।