लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दै छ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रघाती भनिएको एमसीसी सम्झौता टेबुल हुने र संसदबाट आजै पारित हुने ब्यापक चर्चा चलिरहेको छ। तर प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समावेश गरिएको छैन।
प्रतिनिधि सभाकी आजको कार्यसुचिमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने बैठकको कार्यसूचीमा छ। अहिलेसम्म कसैले पनि एमसीसीलाई अगाडि बढाउने भनेर औपचारिक माग नगरेका कारण संभावित कार्यसूचीमा नपरेको संसद सचिवालय स्रोत बताउँछ ।
सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो बार्षिक प्रतिवेदन पेश गर्ने र बिभिन्न तीन जना दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ। आज मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसिसी अनुमोदन गर्नेबारे छलफल गरेको थियो। यसैबीच, बुधबार साढे ११ बजेका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।
एमसीसी सम्झौता बिरुद्ध छ राजनीतिक दलद्वारा जारी बिज्ञप्ति
राष्ट्रघाती भनिएको एमसीसी सम्झौता संसदबाट पारित गर्न लागिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज नेपाल बन्दको आयोजना गरिएको छ।
नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले मङ्गलबार अपराह्न संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बन्दको घोषणा गरेका हुन्।
यता सरकारले आज आयोजित नेपाल बन्दमाथि दमन गर्ने संकेत गरेको छ। सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।
एमसीसीसँगको सम्झौताको विरोधमा बुधबार नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगायत पार्टी र मोर्चाले कार्यक्रम आयोजना गरेपछि मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न सूचना जारी गरेको हो ।

