“धम्क्याइएको छैन भन्दै अमेरिकी राजदुतले फेरी नेपाली नेतालाई फेरी धम्क्याए

“धम्क्याइएको छैन भन्दै अमेरिकी राजदुतले फेरी नेपाली नेतालाई फेरी धम्क्याए


  • जन संचार
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 2.9K
    Shares

संसदबाट एमसीसी सम्झौता पारित गर्ने कि नगर्ने भन्ने बिषयमा नेपालमा रस्साकस्सी चलिरहेका बेला फेरी अमेरिकाले नेपालका नेताहरुलाई धम्क्याएको छ।

अमेरिकी सरकारका तर्फबाट राजदूत र्‍यान्डी जे बेरीले मंगलबार बिहान एक प्रेस बक्तब्य जारी गर्दै नेपालका नेताहरुलाई धम्क्याएका हुन्।

अमेरिकी राजदुत बेरीले जारी गरेको प्रेस बक्तब्यमा नेपाल सरकार स्वयम्ले ‘हस्ताक्षर गरेको सम्झौताबाट पछि हट्दा दुई मुलुकबीचको सम्बन्धमा असर पर्न सक्ने’ चेतावनी दिइएको छ । अद्यापि त्यस बक्तब्यमा राजदूत र्‍यान्डी जे बेरीले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाली नेताहरुलाई धम्की नदिइएको समेत उल्लेख गरेका छन् ।

लूले नेपाली नेताहरुलाई दिएको भनिएको धम्कीप्रति राजदूत बेरीले खण्डन गर्दै ‘हामीले नेपाली नेताहरुलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो । यो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ ।’

मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले यसअघि नेपाली नेताहरुलाई एमसीसी पारित गर्न धम्कीपूर्ण दवाव दिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए ।

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउबा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसी सम्झौता यही फागुन १६ गतेभित्र संसदबाट पारित नभएमा अमेरिकाले नेपाल नीति परिवर्तन गर्दै नेपाललाई दिदै आएको सहयोग रोक्ने धम्कि दिएका थिए।

अमेरिकाले एमसीसी सम्झौताको संसदीय अनुमोदनलाई लिएर नेपाली नेताहरुसँग छलफल भैरहेको जनाउँदै आमसंचार माध्यम र अनलाइनमा आएका सूचनाप्रति असन्तुष्टि समेत जनाएको छ ।

बेरीले वक्तव्यमा के भनेका छन् ?
अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ । यो वर्ष नेपाल-अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षहरूमा नेपालले धेरै ऐतिहासिक र अविश्वसनीय परिवर्तनहरू देखेको छ । यी परिवर्तनहरूमा अमेरिका सधैँ नेपालसँगै उभिएको छ र नेपाललाई विकास सहयोग, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता प्रदान गर्नुका साथै स्वास्थ्य, शिक्षा र अन्य कार्यक्रमहरूमा पनि सहयोग गर्दै आइरहेको छ । तर सामान्य रूपमा, दुई देशबिच हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा यी देशको सम्बन्धमा असर पर्न सक्दछ ।

हामीले नेपाली नेताहरूसँग छलफल त गरिरहेका छौँ । तर पछिल्लो हाम्रो छलफल केही सञ्चारमाध्यम र अनलाइनमा चित्रण गरिएको बहस जस्तो पक्कै थिएन । सार्वजनिक दस्ताबेज वा भनाइहरूमा आधारित हुँदा, नेपाली नेताहरूमा एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार विकास गर्ने बुझाइ भएको पाइन्छ । सोही कारण नै नेपाल सरकारले पहिले हामीसँग एमसीसी कम्प्याक्टका लागि आग्रह गरेको हो ।

दुर्भाग्यवश, यो विकास कार्यक्रम भ्रामक सूचनामा फसेको छ । सो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित छ जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ । त्यसको विपक्षमा को हुनसक्छ ?

हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौँ । यो कुरा असत्य हो । हामीले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेका हौँ । एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र नेपाल एक्लैको निर्णय हो । नेपालले वाचा पुरा गर्ने कार्यमा वर्षौँको ढिलाइ भएपछि हामीले चाहेको यति मात्रै हो कि सम्झौताको अनुमोदनलाई मतदानको प्रक्रियामा ल्याइयोस् ताकि नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत आफ्नो भनाइ राख्न सकून् ।

प्रतिक्रिया