गर्भवती श्रीमतीलाई कुटपिट गर्दै यातना दिई बलात्कार गरेको आरोप लागेका अछामका एक व्यक्तिलाई अदालतले साढे तीन वर्ष सजायं तोकेको छ।
उच्च अदालत दिपायलले सोमबार अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।
आफूविरुद्ध बहुबिबाहको मुद्दा दर्ता गराएकी जेठी श्रीमतीलाई ती युवाले २०७७ असोज २३ गते सुतिरहेको अवस्थामा बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् । जिल्ला अदालत अछाममा पीडितका साक्षीका रुपमा छिमेकीहरुले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी वयान दिएका थिए । तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए । तर जिल्ला अदालत अछामले ०७७ माघ २६ गते पिडित भनिएकी जेठी श्रीमतीले जबर्जस्ती करणी गरेको भन्ने बकपत्र गरे पनि जबर्जस्ती करणीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी पीडितका श्रीमानलाई सफाइ दिएको थियो ।
सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजूरी दिएको रिसको झोंकमा कुटपिट गरी यातना दिई जबरजस्ती करणी गरेको तथ्य जाहेरी दरखास्त, पीडित र साक्षीको बकपत्र एवं शारीरिक परीक्षण लगायतका प्रमाणबाट पुष्टि भएको भन्दै कैदको फैसला गरेको हो ।
विद्यमान कानून अनुसार एउटा कसूर गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसूर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म थप सजाय हुने भएकोले यस मुद्दामा तीन बर्ष ६ महिना कैद तोकिएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।