कास्कीमा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक आदेश जारी गरी आगामी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालन गर्दै शैक्षिक संस्थाहरु संचालन गर्ने गराउन निर्देशन दिएको छ ।
उक्त आदेश अनुसार, शैक्षिक संस्थाहरुसँगसँगै सपिङ मल, सुपरमार्केटहरु पनि संचालन गर्न सकिने भएकाे छ । तर कास्कीमा सिनेमा हल, डान्स बार, दाेहाेरी, जिमखान, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरु भने अर्काे आदेश नभएसम्म खोल्न-खुलाउन प्रतिबन्ध कायमै राखिएको छ।
प्रशासनले जारी गरेकाे सूचना यस्ताे छः
मिति २०७८/१०/२८ गते
जिल्ला प्रशासन कार्यालय कास्कीबाट जारी आदेश ।
कोभिड-१९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट (अमिक्रोन) सहितको संक्रमणको दरमा केही कमी देखिएता पनि समग्र मुलुकको सक्रमण दरको तुलनामा कास्की जिल्लाको संक्रमण दर अझै पनि उच्च (यो हप्ता करीब ३०%) देखिएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रण, नियन्त्रण निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) का निर्णयहरु, गृह मन्त्रालयको मिति २०७८/१०/२३ गतेको निर्देशन, प्रदेश सरकारको निर्देशन र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम मिति २०७८/११/०१ गते देखि अर्को आदेश जारी नभए सम्मका लागि कास्की जिल्लाभर लागू हुने गरी देहाय बमोजिम आदेश जारी गरिएको छ।
देहाय :
1. देहायका सेवा तथा कार्यहरु तत्काल सञ्चालन नगर्ने नगराउने :
क. सिनेमा हल, डान्स बार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, व्युटीपार्लर र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम,
ख. सबै प्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलापहरु,
2. देहायका सेवा तथा कार्यहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी २०७८ फागुन ०१ देखी
सञ्चालन गर्ने :
क. विद्यालय, विश्व विद्यालय, कलेज, टयूशन सेन्टरहरुबाट भौतिक उपस्थितिमा सञ्चालन हुने तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु,
तर, त्यसरी सञ्चालन गर्दा देहाय बमोजिमका विषयलाई विशेष ध्यान दिनुपर्ने :
१. तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डहरु (मास्कको उचित प्रयोग, हात धुने व्यवस्था, सेनिटाइजरको प्रयोग र विद्यार्थीहरुको विचमा भौतिक दुरी कायम) अनिवार्य रुपमा पालना गर्ने गराउने,
२. माथिल्लो र तल्लो कक्षाका विद्यार्थीहरूलाई भिडभाड नहुने गरी फरक फरक समयमा आवागमनको व्यवस्था मिलाउने,
३. अतिरिक्त क्रियाकलापहरु सञ्चालन नगर्ने नगराउने,
४. कक्षाकोठा, शौचालय लगायत भौतिक संरचनाहरुको सरसफाई सुनिश्चित गर्न,
५. विद्यालयको हकमा स्वास्थ्य जोखिमको अवस्था आँकलन गरी विद्यालय व्यवस्थापनले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्य गर्ने,
ख. जनशक्ति भर्ना परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु,
ग. जिल्लामा रहेका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्राथनाका कार्यहरु भीडभाड नहुने गरी गर्ने गराउने,
घ. धार्मिक वा सास्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतवन्ध, धार्मिक अनुष्ठान, लगायतका अत्यावश्यक परम्परागत क्रियाकलापहरु पार्टी प्यालेसमा सञ्चालन गर्दा पचास जना भन्दा बढी नहुने गरी सञ्चालन गर्न सकिने,
ङ. सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसलहरु एक पटकमा पचास जना भन्दा वढि हुन नहुने, कुनै पनि सामानहरु अनावश्यक रुपमा नछुने, भौतिक दुरी कायम गर्ने, मास्कको अनिवार्य उचित प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग लगायतका तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी गराइ सञ्चालन गर्ने,
च. रंगशाला लगायत खुल्ला स्थानमा हुने खेलकूदका कार्यक्रमहरु गर्दा कुल सीट क्षमताको आधा मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने ।त्यस्ता खेलकुद कार्यक्रममा खोपको मात्रा पूरा गरेका व्यक्तिहरुलाई मात्र खोप कार्डको आधारमा प्रवेश गर्न दिने ।
छ. सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा देहाय बमोजिम गर्ने :
१. सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,
२. सबै यात्रु र कर्मचारीहरुले मास्कको प्रयोग गर्ने गराउने ,
३. सावरी साधनको ढोकामा र सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,
४. सहचालकले अनिवार्य रुपमा मास्क र फेस-सिल्ड लगाउनु पर्ने ,
५. सवारी साधनलाई दैनिक रुपमा निसंङक्रमित गर्नु पर्ने,
६. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले वढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउने,
७. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिने,
८. कास्की जिल्लाबाट प्रस्थान विन्दु भई वा कास्की जिल्ला गन्तव्य स्थान भई सञ्चालन हुने लामो दुरीका सार्वजनिक यातायातहरुले बीचबाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्य देखि अन्तिम गन्तव्य सम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण तयार गरी शुरु गन्तव्य र अन्तिम गन्तव्यको ट्राफिक प्रहरी कार्यालय मार्फत जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने,
९. लामो दूरीका सवारी साधन वा हवाईजहाजबाट यात्रा गर्नु पूर्व खोप कार्ड वा कोभिड-१९ को नेगेटिभ रिपोर्ट भएको प्रमाण आफ्नो साथमा राख्ने र सो अनुरुप मात्र यात्रा अनुमति दिने,
ज. होटेल तथा रेष्टुरेण्ट देहाय बमोजिमका मापदण्डहरुको पालना गरी सञ्चालन गर्ने :
१. होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, फेस-सिल्ड र पञ्जा लगाउने,
२. होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीहरुलाई अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्न लगाउने,
३. कूल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने,
४. होटेल तथा रेष्टुरेण्टहरुमा प्रत्येक टेवल तथा कोठामा सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,
५. होटेल तथा रेष्टुरेष्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नु पर्ने,
६. होटेल तथा रेष्टुरेण्टहरुमा सेवाग्राहीहरुलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने,
७. जिल्लामा सञ्चालित होटेलहरुले कोभिड विरुद्धको खोप लगाएको कार्ड वा २४ घण्टा भित्रको एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट लिई आएका सेवाग्राहीहरुलाई मात्र चेक-इन गरी सोको विवरण अद्यावधिक गरी राख्ने,
८. सबै प्रकारका रेष्टुरेण्ट सञ्चालन गर्दा Live Music रहित तरिकाले राती १०:०० बजे सम्म मात्र सञ्चालन गर्न सकिने,
3. कोभिड-१९ रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि नागरिकहरुले देहाय बमोजिम गर्न :
क.तोकिएका स्वास्थ्य सुरक्षाका मपदण्डहरुको पूर्ण रुपमा पालना गर्ने,
ख. अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्ने,
ग. सार्वजनिक स्थलमा हिडडुल गर्दा, सार्वजनिक सवारी साधनहरुको प्रयोग गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप कार्ड (मोबाइलमा फोटो भएपनि) साथमा राख्ने, भौतिक दुरी कायम राख्ने र समय समयमा सेनिटाइजरको प्रयोग गर्ने,
घ. कोभिड परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएका व्यक्तिहरु नतिजा नआएसम्म बाहिर हिडडुल नगर्ने र संक्रमण पुष्टि भएमा पूर्ण रुपमा होम आइसोलेसन बस्ने वा नजिकको कोभिड उपचार केन्द्र / अस्पतालमा सम्पर्क गर्ने,
ङ. नेपाल सरकारले तोके बमोजिम कोभिड विरुद्धको खोप अभियानमा सहभागि भई खोप सेवा प्राप्त गर्ने तथा खोप अभियान सञ्चालनका लागि सहयोग गर्ने,
कोभिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायहरुबाट नियमित तथा आकस्मिक अनुगमन गरिने छ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।