नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गरेर बहुमत स्थानीय तहमा निर्वाचित हुने दाबी गरेका छन्।
एमालेले शनिबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्तो दाबी गरेका हुन्। २०७४ सालको स्थानीय चुनावमा पनि सत्तागठबन्धनसँग लडेर एमाले नै सबैभन्दा ठूलो दल भएको दाबी गर्दै ‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु ? भाग्ने उम्किने ठाउँ छ भने खोज्न ” अनुरोध गरे ।
पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी फुटाएर अर्को पार्टीमा लागेकालाई एमालेमै फर्कन पनि आग्रह गरे । उनले भने, ‘भ्रमवश अर्को पार्टीमा लागेकालाई फर्कन आग्रह गर्दछु ।’
ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिए ।
‘संघीयता भन्ने तर स्थानीय तहलाई निष्प्रभावी बनाउन चाहनेहरू छन्’ भन्दै अध्यक्ष ओलीले भने, ‘अहिले पनि केही दल स्थानीय तह निर्वाचनको पक्षमा छैनन्, तर हामीले उनीहरूलाई पनि तानेर निर्वाचनमा ल्याउँनुपर्नेछ ।’
संविधान दिवसलाई कालो दिन भन्नेहरूले त्यसको रस चुसिरहेको ओलीले आरोप लगाए । स्थानीय तह लोकतन्त्रको खम्बा हो भन्दै उनले भने, ‘यो उपलब्धीलाई अझ बलियो बनाउन आवश्यक छ ।’