अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालका तीन जना शिर्षस्थ नेताहरुलाई फोन गरेर धम्क्याएको समाचारहरु सार्वजनिक भैरहदा ती नेताहरु भने अमेरिकी दबाब सामु झुक्ने संकेत दिन थालेका छन्।
लामो समयदेखि सभामुख अग्नि प्रसाद सापकोटाको राजिनामा माग्दै संसद अवरोध गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले संसदबाट एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया शुरु गरे आफुले एमसीसी सम्झौता पारित गरेर जाने संकेत दिएका छन्। उनले अमेरिकी सहायक विदेश मन्त्री लुसंगको टेलिफोन कुराकानीमा त्यस्तो संकेत दिएका हुन्। उनले अमेरिकी सहायक विदेश मन्त्री लुलाई सभामुखकाकारण संसद अवरोध भैरहेको बताएका थिए।
सभामुख अग्नि प्रसाद सापकोटाकाकारण एमसीसी सम्झौता संसदमा पेश नभएको बुझेको अमेरिकी सहायक विदेश मन्त्री लुसंग एमाले अध्यक्ष ओलीले सभामुखकाकारण एमसीसी संसदमा पेश नभएको भनेर कुरा गर्नुलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ। संसदबाट एमसीसी पारित गराउने पक्षमा देखिएका ओलीले अमेरिकाको सहयोगमा सभामुखलाई हटाउन प्रयास गर्न खोजेको धेरैको बुझाइ छ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।
सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिएका हुन् ।
एमसीसी पास गर्ने निर्णय गर्नुप¥यो भन्दै बिहीबार साँझ प्रचण्डले ओलीलाई फोन गरेका थिए । ओलीले त्यसबारे सत्ताधारी दलहरुले नै निर्णय गर्नुपर्ने जवाफ दिए ।
‘पहिले तपाईंहरुले नै ल्याएको एमसीसी मैले अघि बढाउँदा त्यसलाई मेराविरुद्ध हतियार बनाउनुभयो । तपाईंहरुले अमेरिकी राजदूतलाई दसौंपटक ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसी पारित गर्छाैं भन्नुभएको रहेछ । अर्काे त लिखितै बुझाउनुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘संसदमा तपाईंहरुकै बहुमत छ, यसमा अलमल किन गर्नुहुन्छ ? जनमत किन विभाजित गर्नुहुन्छ ?’
प्रचण्डले ओलीसँग एमसीसीबारे कि अहिले नै सबै दल मिलेर निर्णय गरौं या त चुनावपछि पारित गर्छौं भनेर अमेरिकालाई संयुक्त रुपमा भनौं भन्ने प्रस्ताव गरेका थिए । जवाफमा ओलीले एमसीसी माओवादीका लागि आराजस्तै भएको प्रतिक्रिया दिए ।
‘तपाईंहरु अहिले एमसीसी नामको आरा हातमा लिएर बस्नुभएको छ, अगाडि बढेर पास गरे तपाईंहरुका कार्यकर्ता भड्किन्छन्, जनमत भड्किन्छ । पछाडि फर्किनुहुन्छ अमेरिकाले डन्डा देखाइसक्यो,’ ओलीले प्रचण्डसँग भने, ‘यो आराले अगाडि बढ्दा नि काट्छ ।’
अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर एमसीसी यही फागुन १६ गतेभित्रमा अनुमोदन नभए फिर्ता हुने र नेपालसँगको सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएका छन्।
एमाले एमसीसी पास होस् भन्ने पक्षमा भए पनि अहिले नै आफ्नो पोजिसन क्लियर गर्न भने चाहेको छैन । एमसीसी पनि पास होस्, गठबन्धन पनि टुटोस् भन्ने बटमलाइनमा बसेर एमालेले आगामी रणनीति तय गर्नेे नेताहरुको भनाइ छ ।