सरकारद्वारा आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव घोषणा, निर्वाचन आयोगले माग्यो १२ अर्ब रुपियाँ

सरकारद्वारा आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव घोषणा, निर्वाचन आयोगले माग्यो १२ अर्ब रुपियाँ


  • जन संचार
  • सोमबार, २४ माघ २०७८
  • 4.8K
    Shares

सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा २०७९ वैशाख ३० गते गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो ।

राजनीतिक दलबीच संविधान र कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाइ र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदै आएको थियो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।

४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, आगामी बैशाख ३० गते स्थानीय तहको चुनाब गर्न निर्वाचन आयोगले सरकारसंग १२ अर्ब रुपियाँ माग गरेको छ।

आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा निर्वाचन आयोग, प्रदेशका ७ निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय, सातसय ५३ निर्वाचन अधिकृतको कार्यालयमा खर्च गर्ने गरी सो रकम बराबरको बजेट चाहिने उल्लेख छ ।

यो बजेट अघिल्लो पटकको चुनाव (२०७४ साल) को तुलनामा चार अर्ब बढी हो । यसअघि आठ अर्ब रुपैयाँ बजेट खर्च भएको आयोगको भनाइ छ । यो बजेट एकै चरणमा चुनाव भएको अवस्थामा हुने अनुमानित खर्च हो । त्यसो हुन नसके यो बजेट अझ बढ्न सक्ने समेत आयोगको भनाइ छ ।

आयोगका अनुसार निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च र अन्य सुविधामा हुन्छ । यस्तो खर्चमा २०७४ पछि ३० प्रतिशतसम्म बढेका कारण अनिवार्य खर्च पनि बढ्ने आयोगको भनाइ छ ।

२०७४ सालको निर्वाचनपछि २० लाख मतदाता थपिएको छ । सोही अनुपातमा मतदाता स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्रीमा समेत बजेट बढ्ने अनुमान आयोगको छ ।

आयोगले अनुमान गरेपनि सुरक्षा निकायबाट आवश्यक खर्चको विवरण भने सार्वजनिक भइसकेको छैन । म्यादी प्रहरी भर्नादेखि सुरक्षा प्रबन्धमा छुट्टै खर्च लाग्छ । यो रकमले समेत अर्थ मन्त्रालयलाई अतिरिक्त रकमको चाप पर्नेछ ।

अघिल्लो निर्वाचनपछि हरेक स्थानीय तहमा नगर प्रहरीको व्यवस्था भएका कारण यस पटक सुरक्षा प्रबन्धमा जनशक्ति खटाउन समेत केही सहज हुने अनुमान आयोगले गरेको छ ।

 

प्रतिक्रिया