११ वर्ष अघि नेपालगन्जका हिमाल बुढालाई अपहरण गरी हत्या गरेर भागेका एक युवा शुक्रबार गोरखाबाट पक्राउ परेका छन्।
२०६७ माघ ३ गते बुढाको अपहरणपछि हत्या गरेर भागेका साबिक नेपालगञ्ज उपमहानगरपालिका–१३ हाल वडा १० निवासी ३३ वर्षीय सौभाग्य मल्ललाई गोरखा नगरपालिका–६ पाटेचौरस्थित मामाघरबाट पक्राउ परेका हुन्। पक्राउ परेका मल्ललाई न्यायिक पक्रियाका लागि शनिबार बाँकेबाट खटी आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
हाल पक्राउ परेका सौभाग्य मल्ल घटनापछि भागेर भारतमा आफ्नो पहिचान लगाएर लुक्दै बसेको र नेपालमा रहँदाको परिचयसमेत परिवर्तन गरी जगदशि सिंहको परिचय बनाई भारतको साकेतनगर रुपैडिया केवलपुर बहराइज, उत्तर प्रदेश ठेगानाको आधार कार्ड बनाई भारतमै घरसमेत बनाएरको प्रहरीको अनुसन्धानमा खुलेको छ।
२०६७ माघ ३ गतेबाट अपहरित बुढाको शव माघ १४ गत बाँके नौबास्ता–४ स्थित एक स्थानीयको घरमा फेला परेको थियो । नन्दादेवी बुढाले आफ्नो छोरा २१ वर्षीय हिमाल बुढालाई मल्लसहित पाँचजना व्यक्तिहरूले मोटरसाइकलबाट अपहरण गरी फिरौती माग्दै हत्या गरेको भन्दै ‘अपहरण गरी कर्तव्य ज्यान’ मुद्दामा किटानी जाहेरी दिएकी थिइन् ।
उक्त घटनामा बाँके प्रहरीले यसअघि नै घटनामा संलग्न रहेको अभियोगमा प्रशन्न मल्ल नाम गरेका युवालाई पक्राउ गरी अपहरणमा प्रयोग गरेको सवारी साधान बरामद गरेको थियो । प्रहरीका अनुसार प्रशन्न मल्ल कानुनी दायरामा आए पनि सौभाग्य मल्ल लगायत अन्य प्रतिवादीहरू घटनापछि फरार रहेका थिए ।
प्रशन्न मल्लको हकमा बाँके जिल्ला अदालत र पुनरावेदन अदालतबाट अपहरण गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २९ वर्ष कैद सजाय तोकिएकोमा पछि सर्वोच्च अदालतबाबट निजलाई २० वर्ष कैद कायम हुन आएको खुलेको प्रहरीले जनाएको छ । प्रशन्न हाल दैलेख कारागारमा रहेको बुझिएको डीएसपी दाहालले बताए ।