प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनाः दुलाहाका बाबुआमा र बहिनिसहित आठै जनाको सनाखत

प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनाः दुलाहाका बाबुआमा र बहिनिसहित आठै जनाको सनाखत


  • जन संचार
  • शनिबार, २२ माघ २०७८
  • 5.6K
    Shares

प्युठानमा भएको जीप दुर्घटना

प्यूठानमा आज बिहानै भएको जीप दुर्घटनामा परेर दुलाहाका बाबउआमा र बहिनिसहित आठ जनाको निधन भएको छ भने दुर्घटनामा दुलाहा-दुलाहीसमेत पांच जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते बनेका दुलाहा २५ वर्षीय दानबहादुर खड्काका बाबु ३९ वर्षीय वसन्त खड्का, आमा ३९ वर्षीया श्रीमती वसन्ती खड्का र बहिनि ११ वर्षीया छोरी एलिसा खड्काको निधन भएको छ भने उनीहरुसंगै २९ वर्षीया केशरी खड्का, गाडी चालक ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको पनि सोही दुर्घटनमा निधन भएको छ। यस्तै नौ बाहिनी ६ लुङकी १८ वर्षीया विपना जिसीको पनि सोही दुर्घटनामा निधन भएको छ । उनी दुलहीकै माइती घरकी हुनसक्ने प्रहरीको आशंका छ।

गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीका अनुसार, दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन्।

घाइतेमध्ये बेहुलीसहित तीन जनाको अवस्था गम्भीर छ। बेहुलीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

अध्यक्ष गिरीले रातीको समयमा दुर्घटना हुनु, उद्धारमा ढिलाई हुनु जस्ता कारणले धेरै घाइतेको मृत्यु भएको बताए।

प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले ६ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको हो।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो। जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ ।

रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अहिले भने वर्षा रोकिएको छ ।

प्रतिक्रिया