ललितपुरको गोदावरी नगरपालिका–१२, थेचो बसपार्क स्थित प्रदीप थापा मगरको घरबाट बिहीबार साँझ
तेह्रथुम, संग्रान्ती गाउँपालिका–२ का ६२ वर्षीय मोहन लिम्बुको शव बरामद भएको छ।
गत माघ १३ गते मोरङको धनपालथान- ७ बोर्डिङ टोलस्थित उखुबारीबाट फेला परेका दुई शव संग जोडिएको घटनामा बेपत्ताको खोजि गर्दै जाँदा लिम्बुको शब फेला परेको हो। त्यस उखुबारीमा सुनसरी धरान ३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भू चौधरी मृत फेला परेको थियो ।
जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योग लगायतमा लगानी साझेदार रहेका उनीहरुको उनकै व्यापारिक साझेदार अनिल मण्डलले नै हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको समाचारस्रोतले जानकारी दिएको छ ।
उखुबारीमा हत्या गरेको अवस्थामा फेला परेका दुइ शवको अनुसन्धान गर्दै गएको मोरङ प्रहरीले त्यस घटनाकमा संलग्न रहेको आरोपमा विराटनगरमा दुई जनालाई पक्राउ गरेको बताइएको छ । अद्यपि उनीहरुको नाम खुलाइएको छैन ।
विराटनगरमा पक्राउ परेका दुई जनाले उखुबारीमा हत्या गरिएका दुई जनाको व्यापारिक साझेदार मोहन लिम्बुको पनि ललितपुरमा हत्या गरि गाडेर राखिएको सूचना दिएपछि मोरङबाट एक टोली ललितपुर पुगेर मोहन लिम्बुको शव निकालेको थियो । उनीहरुको व्यापारिक सझेदार अनिल मण्ण्ललाई समेत पक्राउ गरेर विराटनगर लगिएको समाचार स्रोतको दाबी छ ।
व्यापारिक साझेदार अनिल मण्ण्लले कमिसनको चक्करमा अन्य आफ्ना तीन व्यापारिक साझेदारको हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
चार/पाँच दिनसम्म पनि मौन बसेका मण्डललाई बिहीबार दिउँसो १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मोरङ लगिएको थियो । मोरङमा उनलाई सहयोग गर्ने दुई जना पहिल्यै हिरासतमा पुगिसकेका थिए, त्यसैले उनले आफ्नो अपराध लुकाउन सकेनन्।
घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले १३ गतै नै एउटा शव फेला पारेको थियो, त्यसको नजिकै पनि एउटा शंकास्पद खाल्डो फेला परेको थियो । अर्को दिन त्यहाँ उत्खनन् गर्दा थप एक जनाको शव भेटिएको थियो ।
भक्तपुरका श्रेष्ठ लेनदेन मिलाउनु छ भन्दै मंसिर पहिलो साता पूर्वतिर हिँडेको उनको परिवारले बतायो । कल डिटेल रेकर्ड (सीडीआर) ले पनि त्यही संकेत गर्छ । उनीसँग सम्पर्क भएकाहरुको विवरण खोतल्दै जाँदा प्रहरीले चौधरी, मण्डल र बिहीबार शव भेटिएका मोहन लिम्बुको कनेक्सन फेला पार्यो ।
‘शम्भुको शव भेटिइहाल्यो, अनिल मण्डल र मोहन लिम्बु चाहिँ कता छन् भनेर खोज्दा लिम्बुको मोबाइल अफ थियो, मण्डल चाहिँ ललितपुरतिरै देखिए’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यसपछि अपराध अनुसन्धान महाशाखाले उनीसहित केहीलाई निगरानीमा राखेर सोधपुछ गर्यो, तर उनले कसूर स्वीकारेनन् ।’
चार/पाँच दिनसम्म पनि मौन बसेका मण्डललाई बिहीबार दिउँसो १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत मोरङ लगिएको स्रोत बताउँछ । मोरङमा उनलाई सहयोग गर्ने दुई जना पहिल्यै हिरासतमा पुगिसकेका थिए । ‘प्रमाण अगाडि भएपछि उनले पनि इन्कार गर्न सकेनन्, लिम्बुको पनि हत्या गरिसकेको खुलाए’ प्रहरी स्रोत भन्छ, ‘थेचोमा रहेको गोदाम पछाडि गाडेको बताएपछि जिल्लाबाट एक जना डीएसपी सा’बलाई नै काठमाडौं पठाएका थियौं ।’
जिल्ला प्रहरी कार्यालय, मोरङले गरेको अनुसन्धानका क्रममा मण्डल २८ मंसिरमा बिराटनगर गएको देखिन्छ । ‘त्यतिवेला विराटनगरमा मारिएका राजेन्द्र र शम्भु पनि उनीसँगै गएका थिए’ एक अधिकृतले भने, ‘थेचोमा लिम्बुको हत्या भइसकेको रहेछ, तर राजेन्द्र र शम्भुलाई थाहै थिएन ।’
स्रोतका अनुसार बिराटनगर पुगुञ्जेल मण्डल अर्का साझेदार लिम्बु पनि आउँछन् भनिरहेका थिए । केही दिन बिराटनगरमै बस्दा पनि उनीसँग सम्पर्क भएन । राजेन्द्र र शम्भुले सोधीखोजी गरिरहे । तर मोहनबारे जानकारी नपाउँदै अनिलले केही व्यक्तिको सहयोग लिएर राजेन्द्र र शम्भुको पनि हत्या गरेको प्रहरी बताउँछ ।
अनुसन्धान अधिकृतका अनुसार तीनै जनाको घाँटीमा डोरीले कसेर हत्या गरेको देखिन्छ । त्यसपछि शवलाई खाल्डो खनेर गाड्ने प्रयास गरिएको छ ।
स्रोतका अनुसार चार जना मिलेर जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योग लगायतमा लगानी गरेका थिए । ‘एउटा व्यवसायको एक करोड बढी कमिसन आउँदै थियो, त्यही लोभमा मण्डलले तीन जनाको हत्या गराएको देखिन्छ’ ती अधिकृत भन्छन्, ‘हत्यामा उनले पैसा दिएर सहयोगीहरु प्रयोग गरेको पाइयो ।’