भाइरल मन्त्री आलेले ऐन कानून विपरीत कैलालीमा सार्वजनिक जग्गा खरिद गरे

भाइरल मन्त्री आलेले ऐन कानून विपरीत कैलालीमा सार्वजनिक जग्गा खरिद गरे


  • जन संचार
  • बिहिबार, २० माघ २०७८
  • 7.1K
    Shares

अन्याय, अत्याचार, भ्रस्टाचार र अनियमितताबिरुद्ध फिल्डमा नै उत्रिएर कारबाही गरी वाहि वाही कमाएका सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले ऐन कानून विपरीत कैलालीमा सार्वजनिक जग्गा खरिद गरेका छन्।

दिनेशखबर डट कममा आज प्रकाशित समाचार अनुसार, मन्त्री आलेले कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्।

मन्त्री आलेले स्थानीय बासिन्दा दलबहादुर बुढामगर प्रति आना ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा सार्वजनिक पर्ती जग्गा खरिद गरेको बताइएको छ। जग्गा किन्न आफै हाटखोली पुगेका मन्त्री आलेले आफ्नै नाममा कागज पनि बनाउन लगाएका छन्।

तर सरकारी र सार्वजनिक जग्गाको कारोबार गर्न नपाउने कानूनी व्यवस्था रहेको छ। ‘अवैध रुपमा खरिदबिक्री भइरहेको हुन्छ तर ऐलानी र पर्ती जग्गाको कारोबार गर्न पाउँदैन,’ मालपोतका एक अधिकृतलाई उद्दृत गर्दै दिनेशखबर डट कमले अघि लेखेको छ, ‘आयोगमार्फत ऐलानी जग्गाको लालपुर्जा नै पाए पनि वर्षाैसम्म कारोबार गर्न नपाउने व्यवस्था छ।’

मुलुकी देवानी संहिताको परिच्छद ५ को २९९ को (ङ) मा नहर, कुलो वा ऐलानी, पर्ती जग्गालाइृ पनि सरकारी जग्गा भनिएको छ। सोही परिच्छेदको ३००.(२) मा सार्वजनिक सम्पत्तिको स्वामित्व सम्बन्धित सार्वजनिक संस्था वा नेपाल सरकारमा रहने उल्लेख छ। तर मन्त्री आलेले नै खरिद गरेपछि ऐलानी, पर्ती जग्गाको अवैध कारोबार झनै मौलाउने आशंका गरिएको छ। यसबारे बुझ्न मन्त्री आलेलाई सम्पर्क गर्दा उनको फोन उठेन। मन्त्रीका स्वकिय सचिव हेमन्त रेग्मीको फोन अफ थियो।

यसअघि केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा एमालेबाट वनमन्त्री भएका आले अहिले काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री छन्। उनी डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। समाचारस्रोत दिनेश खबर डट कम

प्रतिक्रिया