सामुदायिक वनसँग तोकेरै लाखौँ रुपियाँ चन्दा उठाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीले त्यस चन्दा अभियानको बिरोध गर्ने कैलालीका सहायक वन अधिकृतलाई कालोमोसो दलेर दुर्ब्यबहार गरेको छ।
सोमबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव–डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन् ।
आफुलाई विप्लवको कार्यकर्ता भएको परिचय दिदै आएको एक समुहले “चन्दा आतंकको किन विरोध गरेको भन्दै सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेको प्राप्त समाचारमा जनाइएको छ।
केही समय अगाडी सो सव–डिभिजन अन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए ।
सामुदायिक वनमा आफूले तोकेको रकम चन्दा स्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए । चन्दाका विषयमा सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई कालोमोसो दलिएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव दीपेन्द्र चलाउनेले भने सोमबार अपुष्ट खबर आएकाले बुझेर मात्र जानकारी दिने बताउनु भएको छ ।
यसैबीच कालोमोसो दलेर दुर्ब्यबहार गरिएका सहायक वन अधिकृत विश्वराज पण्डितले मोसो दल्नेहरुलाई समाज रुपान्तरणको औकात छ भने खुल्ला बहस गर्न चुनौती दिएका छन् ।
https://www.janasanchar.com/2022/01/116927/
पण्डित आफैंले उक्त तस्वीर सार्वजनिक सामाजिक सञ्जालमा पोष्ट गर्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई त्यस्तो चुनौती दिएका हुन्। उनले चरित्रमा दाग नलागुन्जेलसम्म अनेक रंग पोतेर केही फरक नपर्ने उल्लेख गरेका छन् ।
चन्दा आतंकको विरोध गरेकाले विप्लवका कार्यकर्ताहरुले आफूमाथि दुर्व्यवहार गरेको पण्डितको भनाइ छ । समयले सबैको हिसाबकिताब गर्ने उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा (विप्लव) समूहका कथित केही थान व्यक्तिहरुले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पचमुडिया सवडिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ ।’
उनी थप लेख्छन्, ‘देश र जनताका विरुद्ध गरेका मेरा कुनै पनि कार्यहरु छन् भने राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरु र जनअदालतको कठघरामा उभिन तयार छु । अन्यथा एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ ।’