नेपाली कांग्रेसका पुराना नेता एबम पार्टी निकट नेपाल आदिवासी जनजाति संघको सभापति इन्द्रबहादुर गुरुङ (आइबी) ले नेपाली कांग्रेसको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएका छन् ।
पार्टीले आदिवासी जनजातिका मागहरुलाई सम्बोधन नगरिदिदा ज्यान मार्ने धम्की दिइएको बताउदै नेता गुरुङले नेपाली कांग्रेसको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएका हुन् ।
माघ ११ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै बुझाइएको राजिनामा पत्रमा नेता गुरुङले पार्टी महाधिवेसनमा आदिवासी जनजाति संघको तर्फबाट प्रतिनिधि समेत सहभागी हुन नदिएको, आदिवासी जनजातिका चाडपर्व कटौती हुँदा पार्टीले बेवास्ता गरेको लगायतका आरोप लगाएका छन्। त्यस्तै उनले पार्टीले आदिवासी जनजातिप्रति हेर्ने दृष्टिकोण संकीर्ण बन्दै गएकोमा समेत आपत्ति जनाएका छन् ।
पढ्नुहोस राजीनामा पत्रको पूर्ण विवरण–
मिति २०७८ माघ ११ गते
श्रीमान् सभापतिज्यू,
नेपाली काँग्रेस, केन्द्रीय कार्यालय
वी।पी। नगर सानेपा, ललितपूर ।
विषय ः राजिनामा सम्बन्धमा ।
नेपाली काँग्रेसको मूल्य, मान्यता र आदर्शहरुलाई आत्मासात गर्दै मैले वि।स। २०१७ सालदेखि पार्टीमा निरन्तर क्रियाशिल रहदै आएको जेलनेल जिवन विताएको स्मरण गराउन चाहन्छु । विगत लामो समयदेखी पार्टीको भातृ संस्था नेपाल आदिवासी जनजाति संघको केन्द्रीय सभापतिको पदमा रही आदिवासी जनजाति समुदायभित्र आफ्नो विवेक र ल्याकतले भ्याए सम्म सक्रिय रहदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै नेपाल आदिवासी जनजाति संघको पुरानो विधान संशोधन गरी संघीय संरचना अनुसार संस्थालाई परिवर्तन गर्नको लागि मिति २०७४ फाल्गुन २७ गते संशोधित विधान चार बर्ष पुग्न लाग्दा पनि आजसम्म पनि पार्टीको केन्द्रीय कार्यसमितिबाट स्वीकृत नभएको कारणले गर्दा हामीले नेपाल आदिवासी जनजाति संघको महाधिवेशन गर्न पाइरहेका छैनौं ।
त्यस्तै गरी मिति २०७५ बैशाख २० गते आदिवासी जनजातिहरुको साँस्कृतिक चाड पर्वहरुको सार्वजनिक विदा केपी ओलीको सरकारले खारेज गरेकोमा ती चाडपर्वमा दिएको विदाहरुलाई यथावत राख्न काँग्रेसले संसदमा बोली दिनु प¥योे भनि पाँच बुँदे ज्ञापन–पत्र सभापतिज्यूलाई बुझाउदा समेत एक शव्द आजको दिनसम्म नबोल्दा मौन समर्थन गरेको बुझिन्छ साथै बर्तमानमा सभापतिज्यूकै नेतृत्वमा सरकार हँुदा समेत नेपालका आदिवासी जनजाति समुदायहरुले विगतमा निरन्तरता पाउदै आएको सार्वजनिक विदाहरु पुर्नस्थापित नहुदा मैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको छैन् । कुनै जातिहरुलाई भातृ संगठन कुनै जातिलाई शुभेच्छुक संगठन कुनै जातिलाई वास्तै नगर्नु साथै जातिय जनसंख्याको आधारमा भातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधि नेपाल आदिवासी जनजाति संघले नपाउदा हामीले सबै जात–जातिहरुलाई समेट्न सकेको अवस्था छैन् जसले गर्दा विभिन्न किसिमको समस्याहरु हामीले व्यहोर्नु परेको अवस्था छ । कतिपय आदिवासी जनजातिले ज्यान लिन सक्ने धम्कि समेत मैले सहनुपर्ने अवस्था भएको हुदा र पार्टीले आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा पार्टीको नेतृत्वमा भएकाहरुले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्धा उछाल्नेलाई कसरी सिध्याउने चिन्ता, परिवारको चिन्ता, धनको चिन्ता, हिन्दु राष्ट्र घोषणाको धर्म निरपेक्षको खारेजको चिन्ता लिनु नेपाली काँग्रेसले रुखमा भोट माग्नु पर्ने ठाँउमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छाता आदिमा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट उपगुट समुहमा ध्यान दिने आदि कारणले म आजको मिति देखी नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशिल सदस्यताबाट समेत राजीनामा गर्दछु ।
जय नेपाल
श्री इन्द्रबहादुर गुरुङ
सभापति, नेपाल आदिवासी जनजाति संघ
केन्द्रीय कार्यसमिति, काठमाण्डौं