मोहन बिक्रम नेतृत्वको नेकपा मसालको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित

मोहन बिक्रम नेतृत्वको नेकपा मसालको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित


  • जनसञ्चार डेस्क
  • आइतबार, १६ माघ २०७८
  • 4K
    Shares

मोहन बिक्रम नेतृत्वको नेकपा मसाल विभाजित भए संगै त्यसको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित भएको छ।

पार्टीसंग बिद्रोह गरेर सन्तबहादुर नेपालीको नेतृत्वमा छुट्टै केन्द्रिय समन्वय समिति निर्माण गरेको समुहले शनिबार भर्चुअल माध्यमबाट विशेष राष्ट्रिय भेला गरी बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको पनि केन्द्रीय समन्वय समिति गठन गरेको हो।  जसको अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहेका छन् । सो समितिमा ५१ जना केन्द्रीय सदस्य रहेका छन्।

भेलामा नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपाली प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरुमा अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देबबहादुर लामिछाने, अन्तराट्रिय नेपाली एकता समाजका महासचिव विदुर शर्मा, महिला संगठनको तर्फबाट मनु बिक रहेका थिए ।

सो पार्टीनिकट पत्रकार नारायण शर्माले दिएको जानकारी अनुसार, गत मंसिरमा नेकपा मसालबाट बिद्रोह गरेर सन्तबहादुए नेपालीको समुहले छुट्टै केन्द्रिय समन्वय समिति बनाएको थियो।  त्यस समितिको प्रवक्तामा कृष्णराज पौडेल रहेका थिए  । सो समूहले राष्ट्रिय भेला गरी ५७ सदस्यीय केन्द्रीय सदस्य र ११ सदस्यीय सल्लाहकार रहेको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति गठन गरेको थियो।

कृष्णराज पौडेल, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

मोहनविक्रम सिंहले नेतृत्व गरेको मूल पार्टी संसदीय व्यवस्थामा फसेको आरोपसहित सो समूहले वर्तमान संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था गर्दै पार्टीलाई दक्षिणपन्थी विचलनबाट रोक्न वैचारिक संघर्षको रूपमा नयाँ समह बनाएको अध्यक्ष पौडेलको दाबी छ ।  नयाँ गठितराष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका अध्यक्ष कृष्णराज पौडेलले भनेका छन् ः “हामीले २०५१ सालमा यो संसदिय व्यवस्था मूलरुपमा प्रतिकृयावादी व्यवस्था हो । यो व्यवस्थाबाट नेपाली जनताको मुक्तिसम्भव छैन । हामीले यो व्यवस्थालाई सडक र सदन दुबै ठाउँबाट नालायक सावित गर्न, भण्डाफोर गर्नभनि संसदीय व्यवस्थालाई कार्यनीतिक रुपमा उपयोग गरेका थियौं । तर नेकपा (मसाल) नेतृत्वले पार्टीको उद्देश्य अनुरुप काम नगरी संसदीय व्यवस्थामा यसरी फस्यो कि उ त्यहाँबाट उम्कनै नसक्ने, संसदीय व्यवस्था बिना उभिनै नसक्ने भएपछि पार्टीको क्रान्तिकारी लाईनको रक्षा र सुदृढीकरणको लागि हामीले आकस्मिक र बाध्यात्मक रुपमा आज यो विशेष राष्ट्रिय भेला गरी केन्द्रीय समन्वय समिति गठन गर्नु परेको छ ।”

प्रतिक्रिया