दुई सय टन भार क्षमता भनेर बनाइएको पोखरा महानगरपालिका–३२ गगनगौडा र ३३ भरतपोखरी जोड्ने सेतीनदीमाथिको निर्माणाधीन पुलको टेको झिक्ने क्रममा लच्किएपछि छानबिन समिति बनाइएको छ।
त्यस पुल लच्किनुको कारण बारे छानबिन गर्न पूर्वाधार विकास विभागले बिभाग अन्तरगतको पुल शाखा प्रमुख कृष्ण कटुवालको नेतृत्वमा विज्ञसहित तीन सदस्यीय छानविन समिति गठन गरेको हो । समितिले फिल्ड अध्ययन गरेर सात दिनभित्र प्रतिवेदन बुझाउने विभागका महानिर्देशक इश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए।
१८ महिनामा सक्नेगरी सम्झौता भएको ६१ मिटर लम्बाइको त्यस पुलको डिजाइन स्वीस सरकारको सहयोगमा भएको थियो । पुल निर्माणको जिम्मा इलाइट कन्स्ट्रक्सन प्रालिले पाएको थियो । पूर्वाधार विकास विभाग (डोली)को स्थानीय सडक पुल कार्यक्रममार्फत २०७५ पुस २२ मा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
छ करोड लागतमा निर्माण सम्झौता गरिएको यस पुल तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि कोरोनाको बहाना बनाउँदै दुई पटकसम्म म्याद थप गरी सात करोड लागत पुर्याइएको थियो ।
निर्माण कार्य सकिएर परीक्षणको लागि टेको निकालेपछि पुल लच्किएको थियो । पुल संचालनमा आएर सेवा दिने बेला पुल लच्किएपछि स्थानीय आक्रोसित बनेका छन् ।