दुलही लिन जाने तयारी गरिरहेको रथले किचेर बारामा दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
आदर्शकोतवाल गाउँपालिका-३ बत्रा निवासी लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथले किचेर बारामा दुई जनाको मृत्यु भएको हो।
रथले किचेर २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए । वडाध्यक्ष यादवका अनुसार, सोही घटनामा अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर छ । घाइतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको छ ।
बाराकै करैयामाई गाउँपालिकामा दुलही लिन जाने तयारी भैरहेका बेला रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष यादवले बताए ।
आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर अस्पताल ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।