झापामा एकाबिहानै राखिएको कुकर बमलाई नेपाली सेनाले निस्क्रिय गरेको छ। झापाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड– १ स्थित पश्चिम बस स्ट्यान्डमा राखिएको कुकर बमलाई नेपाली सेनाले निस्क्रिय गरेको हो ।
एकाबिहानै स्थानीयले कुकुर बमजस्तो शङ्कास्पद वस्तु देखिएको प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले बम निस्क्रिय पार्न नेपाली सेनालाई अनुरोध गरेको थियो। त्यसपछि श्री नयाँ श्रीनाथ गण चारआलीबाट खटिएको बम डिस्पोजल टोलीले सो कुकर बमलाई घटनास्थलदेखि २ सय मिटर पर लगेर डिस्पोज गरेको गणका प्रमुख सेनानी अमरजङ्ग थापाले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट हिमाल सुरक्षा परिषद् मेची अञ्चल नामक संस्थाको पर्चासमेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले बताए।
घटनास्थलमा फेला पारेको पर्चामा नेपालमा धर्म निरपेक्षता खारेज गरी हिन्दु राज्य कायम गरिनु पर्ने, सङ्घीयता खारेज गरिनुपर्ने, नागरिकता छानबिनका लागि आयोग गठन हुनुपर्ने, पुरानै पाँच विकास क्षेत्र कायम गरिनुपर्ने लगायतको माग रहेको प्रहरीले जनाएको छ । समाचार स्रोत रेडियो नेपाल