निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डाबाट गाईको तस्बिर हटाउन निर्देशन दिएको रहस्य खुलेको छ। त्यस पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले त्यस्तो रहस्य खुलाएका हुन्।
राप्रपा निवर्तमान अध्यक्ष थापाले गत माघ २ गते नै आयोगले पत्र पठाएर पार्टीको झण्डाबाट गाईको तस्बिर हटाउन निर्देशन दिएको जानकारी दिदै त्यस्तो पत्र लुकाएकोमा राप्रपाको वर्तमान नेत्रित्वप्रती असन्तुष्टि प्रकट गरेका छन्।
निर्वाचन आयोगले गत माघ २ गते राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक पत्र लेखी संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो । नेपालको राष्ट्रिय जनवारको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको छ ।
त्यस्तै, विधानको प्रस्तावको बुँदा ४ मा उल्लेखित सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको भावना तथा प्रस्तावनाविपरीत भएको भन्दै हटाउन आयोगले निर्देशन दिएको छ ।