निर्माणको अन्तिम चरणमा रहेको हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माणाधीन बेलिब्रिज भत्किएको छ।
छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौरमा निर्माणाधीन बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो । भत्केको बेलिब्रिजमा मानवीय क्षति भने भएको छैन ।
अहिले भत्केको बेलिब्रिजलाई ठड्याउन दुई वटा मेसिन लगाईएको छ । पुलको बीचको भाग बाङ्गगिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नया भौतिक संरचना जडान गर्नु पर्ने अवस्था सिर्जना भएको छ । भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने बुल निर्माण कम्पनी जलब रवि चक्र जेविका प्रतिनिधि बखतबहादुर मल्लको भनाई छ ।
छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंगशाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण सम्पन्न हुने गरी भएको त्यस पुल निर्माण अब केही दिन पछि धकेलिएको मल्लले जानकारी दिए।
पाँच करोड २० लाख ५५ हजार ९०२ रुपयाँको लागतमा बन्ने यो वेलिव्रिजको लम्वाई ५५ मिटर छ ।
ग्रामिण पहुच कार्यक्रम (¥याप ३) ले मुगु जिल्लाको सदरमुकाम गमगढी देखि हुम्लाजिल्लाको चंखेली गाँउपालिका देउली सम्म जनताको सहभागीतामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुदा यो सडक संचालनमा समस्या हुँदै आएको थियो ।
मुगु कणालीमाथि वेलिव्रिज निर्माण भएमा केही बस्तिका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ ,अदानचुली , खार्पुनाथ , सिमीकोट गाँउपालिकाका स्थानीय सम्म समयमै सडक पुग्ने अवस्था थियो, तर जडान कार्यमै पुल भत्किदा अलि लामो समय लाग्ने बताईएको छ ।