नक्कली मह बनाएर बिक्री गरेको आरोपमा नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठलाई प्रहरीले काठमाण्डौको ज्याठाबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गर्ने गरेको आरोपसहित एकीकृत समाजवादी नेता श्रेष्ठलाई नक्कली मह बनाउने कच्चा पदार्थसहित बिहीबार पक्राउ गरेको हो। प्रहरीले करिब सात हजार लिटर नक्कली मह पनि बरामद गरेको प्राप्त समाचारमा जनाइएको छ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ निवासी श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको महाशाखाका प्रवक्ता एसपी कृष्ण पंगेनीले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफु र आफ्नी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ कम्पनी सन्चालन गरी गुणस्तरहीन मह बनाई विक्री वितरण गर्दै आएको एसपी पंगेनीले जानकारी दिए। उनले स्पर्स हनी नामको लेबल टाँसेर विक्री वितरण गर्ने गरेको भए पनि सो ब्राण्ड दर्ता समेत नभएको प्रहरीको भनाइ छ।