सीके राउतलाई ज्‍यान मार्ने मन्त्री यादवको धम्की : तत्काल बर्खास्त गरी गिरफ्तार गर्न सीके राउतको माग

सीके राउतलाई ज्‍यान मार्ने मन्त्री यादवको धम्की : तत्काल बर्खास्त गरी गिरफ्तार गर्न सीके राउतको माग


  • जन संचार
  • शुक्रबार, ७ माघ २०७८
  • 4.2K
    Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई बलिदानी दिवसकै दिन आफुसंग टकराए मारिने सक्ने धम्की दिएपछि राउत आक्रोशित बनेका छन्।

उनको जनमत पार्टीले बिहीबार साँझ एक प्रेस बिज्ञप्ति जारी गर्दै अध्यक्ष राउतलाई मार्ने धम्की दिने मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्त जनाउँदै बर्खास्त गर्न माग गरेका हुन् ।

संघीय मन्त्री यादबको धम्की चरम आपराधिक अभिव्यक्ति रहेको र किसान आन्दोलन तथा आम-जनताको विरूद्धमा रहेको जिकिर गर्दै बिज्ञप्तिमार्फत‘ आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने” मन्त्रीलाई अविलम्ब बर्खास्त गरी गिरफ्तार गर्न माग गरिएको छ।

यस अघि बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी थिइन् । गौरमा राउतका कार्यकर्ताले आफुलाई अवरोध गर्न खोजेपछि अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी थिइन् ।

नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गरिन् । ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले अघि भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’ उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिएकी छन् ।

२०६३ साल चैत ७ गते गौरको राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

प्रतिक्रिया