देशैभर भेरोसिल खोपको मौज्दात न्यून : कोरोनाको झण्डै १९ लाख मात्रा खोप गायब

देशैभर भेरोसिल खोपको मौज्दात न्यून : कोरोनाको झण्डै १९ लाख मात्रा खोप गायब


  • जन संचार
  • बिहिबार, ६ माघ २०७८
  • 5.4K
    Shares

स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो । पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ । उक्त निर्णय कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई भनेको छ ।

हाल कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने काम जारी छ । अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकहरुलाई बुस्टर डोज दिन सुरु गरिएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, सरकारले खरिद र अनुदानमार्फत प्राप्त गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको झण्डै १९ लाख मात्रा खोपको अभिलेख नराखेको पाइएको छ । सरकारले अनुदान र खरिदमार्फत चार करोड ३८ लाख ८८ हजार ४० मात्रा खोप प्राप्त गरेको छ । जसमध्ये सरकारले एक करोड २० मात्रा खरिद गरेको हो भने अनुदान सहयोगमार्फत दुई करोड ८३ लाख ८८ हजार आठ ] सय ४० प्राप्त गरेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबारसम्म दुई करोड ८५ लाख १० हजार एकसय १६ मात्रा खोप लगाइएको छ । यो मात्रा खोप लगाइदिइसकेपछि भण्डारणमा एक करोड १८ लाख ७८ हजार सात सय २४ मात्रा हुनुपर्छ । तर, सातै प्रदेशका भण्डारण केन्द्रमा ८० लाख मात्रा सञ्चित छ ।

सरकारी आँकडालाई केलाउँदा ३८ लाख ७८ हजार सात सय २४ मात्रा खोप गुम भएको देखिन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालमा खोप लगाउने क्रममा तीन प्रतिशतभन्दा कम खेर गएको छ । यद्यपि लगाउने क्रममा पांच प्रतिशत खोप नै खेर गए पनि २० लाख १९ हजार ४ सय ४२ मात्रा हुन्छ । तर, १८ लाख ५९ हजार दुई सय ८२ मात्रा खोप न त भण्डारण केन्द्रमा छ न त सरकारी अभिलेखमा छ । ठुलो मात्रामा कोरोनाविरुद्धको खोपको अभिलेख नभएको स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले नै शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बताएका थिए ।

यसरी करिब १९ लाख मात्रा खोप अभिलेख नहुँदा स्वास्थ्य मन्त्रालयका अधिकारी अनभिज्ञता प्रकट गर्छन् । आपूर्ति शाखाका वरिष्ठ अधिकृत थापाले कोरोनाविरुद्धको खोप केन्द्र सरकारले प्रदेशलाई , प्रदेशले जिल्लालाई त्यसपछि स्थानीय तहबाट वार्ड स्वास्थ्य केन्द्र अनि खोप केन्द्रसम्म खोप आपूर्ति गर्दा कुनै त्रुटि नभएको बताउँछन् । खोप जसरी केन्द्रीय तहदेखि स्थानीय खोप केन्द्रसम्म पुग्ने प्रक्रिया छ त्यस्तै गरेर खोप लगाएको अभिलेख जम्मा हुँदै समन्वय भई आउन समय लागेकाले पनि यर्थाथ तथ्याङ्क केन्द्रसम्म नपुगेको हुन सक्ने थापाको अनुमान छ ।

प्रतिक्रिया