कोरोना संक्रमणबाट लमजुङमा एकको निधन, कास्कीमा नयाँ तीनसय ६५ थपिए

कोरोना संक्रमणबाट लमजुङमा एकको निधन, कास्कीमा नयाँ तीनसय ६५ थपिए


  • जन संचार
  • बुधबार, ५ माघ २०७८
  • 5.1K
    Shares

पछिल्लो २४ घन्टामा लमजुङ जिल्लामा कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ भने कास्की जिल्लामा थप् तीनसय ६५ जना नयाँ संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार, गएको पुष २४ गते कोरोना संक्रमित भै लमजुङ जिल्ला अस्पतालमा भर्ना भएर उपचार गर्दै आएका लमजुङ जिल्लाको मर्स्याङ्दी गौपालिका वडा नम्बर ६ घर भएका ८७ वर्षीय वृद्धको निधन भएको हो।  यो संगै गण्डकी प्रदेशमा हालसम्म एकहजार चारसय २९ जनाको कोरोना संक्रमणबाट निधन भएको निर्देशनालयले जानकारी दिएको छ।

निर्देशनालयले नै दिएको अर्को जानकारी अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमण डर बढ्दै गएको छ।  त्यसमा पनि गण्डकी प्रदेशको राजधानी रहेको पोखरामा कोरोनाको संक्रमणडर तीब्र रहेको छ।

पोखरा रहेको कास्की जिल्लामा एन्टीजेनमार्फत परिक्षण गरेका एकसय ७६ जनामा र पिसीआर गरेका एकसय ८९ जनामा समेत गरी कुल तीनसय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको  निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

बिज्ञप्तिमा दिइएको जानकारी अनुसार, गण्डकी प्रदेशमा कोरोना संक्रमण डर तीब्र रहेका अन्य जिल्लाहरुमा स्याङ्गजा,  तनहुँ र गोर्खा रहेका छन्। पछिल्लो २४ घन्टामा स्याङ्गजामा थप ८५ जना, तनहुँमा ८३,  गोरखामा ५८ जना र नवलपुरमा ४८ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमणबाट एक जनाको निधन भएको लमजुङ्गमा ३० जना संक्रमित थपिएका छन् भने म्याग्दीमा १९ जना तथा बागलुङ्र्वमा ११ र पर्वतमा पांच जना नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ।

गण्डकी प्रदेशको मनाङमा कोरोना संक्रमण डर शुन्य रहेको छ भने मुस्ताङमा एक जनामा कोरोना संक्रमण देखिएको बताइएको छ।

प्रतिक्रिया