ओछ्याउनमा पिसाब गरेको भन्दै पाँच वर्षीय बालकको यौनाङ्गमा रबरले बाँधिदिएको अभियोग लागेकी पोखरा–१५ गलेश्वरचोकस्थित न्यु लाइफ होस्टेलकी वार्डेन जानुका नेपालीलाई अदालतले कैद सजायं तोकेको छ भने क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
जिल्लाअदालत कास्कीका का सूचना अधिकारी नील पनेरुले दिएको जानकारी अनुसार,
न्यायाधीश श्रीकृष्ण भट्टराईले कैद र क्षतिपूर्तिबाहेक एक हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा दुई सय रुपैयाँ भराउने आदेशसमेत दिएका छन् ।
होस्टेल वार्डेन नेपालीले पिसाब फेर्ने अंगमा रबरले बाँधेर यातना खेपेका बालकको पीडा पुस ६ गते सार्वजनिक भएको थियो । स्कुलमा शिक्षिकाका अघिल्तिर ती बालक रोएपछि बुझ्दै जाँदा शिक्षिकाले उनको यौनांगमा रबरले बाँधिएको फेला पारेकी थिइन् ।
हिमालयन गुडलाइफ काठमाडौंद्वारा सञ्चालित होस्टेलमा वार्डेन नेपालीले राति सुत्ने समयमा ओछ्यानमा पिसाब गरेपछि बालकको यौनांगमा रबरले बाँधिदिएकी थिइन् । आइन्दा घटना नदोहोर्याउने प्रतिबद्धतासहितको सम्झौतापत्रमा गराएर होस्टल सञ्चालकहरुले घटना गुपचुप पार्न लागेपनि पनि सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले वार्डेन नेपालीलाई पक्रेको थियो । उनी विरुद्ध पुस अन्तिम साता सरकारी वकिलको कार्यालयमार्फत बालबालिका विरुद्धको कसूर सम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो ।
वार्डेन नेपालीले प्रहरी र अदालती बयानमा आफूबाट अन्जानमा भूल भएको भनी रुँदै बिलौना गरेकी थिइन् ।
बालबालिकासम्बन्धी ऐन, २०७५ ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने कामलाई बालबालिका विरुद्धको कसूर भनेको छ । शारीरिक चोटपटक वा असर पुराउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने काम पनि बालबालिका विरुद्धको कसूरमा परिभाषित छन् ।
ती बालक बस्दै आएको न्यु लाइफ होस्टल दर्तासमेत नगरी सञ्चालनमा रहेको पनि पछि सार्वजनिक भएको थियो । सञ्चालकहरुले दुर्गमका केटाकेटी ल्याएर होस्टेलमा राख्ने र सिद्ध माध्यामिक विद्यालयमा पढाउने व्यवस्था गरेका छन् ।