गण्डकी प्रदेश सरकारद्वारा भारी मात्रामा सार्वजनिक यातायातको भाडा वृद्धि

गण्डकी प्रदेश सरकारद्वारा भारी मात्रामा सार्वजनिक यातायातको भाडा वृद्धि


  • जन संचार
  • मंगलबार, ४ माघ २०७८
  • 3.7K
    Shares

गण्डकी प्रदेश सरकारले भारी मात्रामा सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारी मात्रामा सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले दिएको जानकारी अनुसार, प्रदेशभित्र लामो दुरीमा चल्ने यात्रुबाहक बसले यात्रुसँग साविकको भाडामा थप २३.५१ प्रतिशत भाडा थप गरेर लिन पाउने छन् । त्यसैगरी नगर बसमा यात्रा गर्ने यात्रुसँग व्यवसायीले साविकको भाडामा थप २२.५५ प्रतिशत भाडा थप गरेर लिन पाउने छन् । ट्रकको भाडा पनि १४.५७ प्रतिशतले बृद्धि गरिएको छ । भाडामा संचालन हुने ट्याक्सी मिटरमा चलाउनु पर्ने छ । ट्याक्सीले सुरुको १५ किलोमिटरको यात्रासम्म ८० रुपैयाँ भाडा लिन पाउने छन । त्यसपछि थप २ सय मिटरमा १० रुपैयाँका दरले भाडा थप हुँदै जानेछ ।

प्रदेशमा संचालित ट्याक्सीका चालकहरूले पहिचान खुल्ने एउटै कलरको ड्रेस लगाउनु पर्ने, यात्रुले प्रष्ट देखिनेगरी नाम, ट्याक्सी नम्वर र ठेगाना खुल्ने कार्ड राख्नु पर्ने, जिसिएस जडान, मिटर ट्याक्सीले यात्रुलाई तत्कालै बिल दिनु पर्ने लगायतका निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

सार्वजनिक सवारीमा भाडा सिफारिस समितिको प्रतिवेदनका आधारमा भाडा समायोजन गरिएको गण्डकी प्रदेशका प्रबक्ता मन्त्री खड्काले दाबी गरे। लामो समयदेखि पेट्रोलियम पदार्थ र सवारीका साधनका पार्ट्स लगायतमा चर्को मुल्यवृद्धि भइसक्दा समेत सार्वजनिक सवारीको भाडा समायोजना नभएको भन्दै ब्यबसायीहरुले असन्तुष्टि प्रकट गरिरहेको अवस्थामा प्रदेश सरकारले व्यवसायीको चर्को असन्तुष्टिलाई सम्बोधन गर्दै गण्डकी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक बस, ट्रक, ट्याक्सी लगायतका साधनको भाडादर समायोजन गरेको बताइएको छ ।

प्रतिक्रिया