कास्कीमा कडा हुँदै लकडाउन : भिडभाड हुने स्थान तथा शैक्षिक संस्थाहरु बन्द गर्न आदेश (आदेशसहित)

कास्कीमा कडा हुँदै लकडाउन : भिडभाड हुने स्थान तथा शैक्षिक संस्थाहरु बन्द गर्न आदेश (आदेशसहित)


  • जन संचार
  • मंगलबार, ४ माघ २०७८
  • 4K
    Shares

जिल्ला प्रशासन कार्यालय कास्की

कास्की जिल्लामा कोरोना संक्रमणको दर ५० प्रतिशत माथि पुगेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले भिडभाडजन्य गतिबिधि हुने स्थान तथा शैक्षिक संस्थाहरु बन्द गर्न आदेश दिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै भिडभाडजन्य गतिबिधि हुने स्थान तथा शैक्षिक संस्थाहरु बन्द गर्न आदेश दिएको हो ।

गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सोमबारको बैठकको निर्णय बमोजिम सोमबारदेखि जिल्ला भरी लागू हुने गरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको बिज्ञप्तिमा माघ १५ गतेसम्म सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, डान्स बार, दोहोरी साँझ, जिम खाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर लगायतका भिडभाड हुने सेवा एवम् स्थलहरू खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको उल्लेख छ ।

त्यस्तै शैक्षिक संस्थाहरू लगायत भौतिक रूपमा उपस्थित भएर सञ्चालन हुने ट्युसन सेन्टर तथा शैक्षिक क्रियाकलापहरूमा माघ १५ गतेसम्म निषेध गरिएको छ।

प्रशासनले माघ महिनाभरको लागि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा धार्मिक क्रियाकलापहरूमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका क्रियाकलापमा निषेध गरेको छ ।

खेलकुदका गतिविधि गर्दा दर्शक नरहने गरी गराउन तथा दर्शक सहभागी हुने पूर्व निर्धारित खेलमा खोप कार्ड भएकाहरू मात्र प्रवेश हुने गरी कुल क्षमताको एक तिहाइ हुने गरी गर्नुपर्नेछ ।

त्यस्तै होटल तथा रेस्टुरेन्टहरूमा खोप कार्ड भएकाहरूलाई मात्र प्रवेश दिन तथा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी कुल क्षमताको आधा संख्या भन्दा नहुने गरी सञ्चालन गर्न गराउन भनिएको छ । रेस्टुरेन्टहरूमा साङ्गीतिक कार्यक्रम सञ्चालन गर्न पाइने छैन भने राति १० बजेपछि रेस्टुरेन्ट बन्द गर्नुपर्नेछ ।

डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, पसलहरू सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला नहुने गरी गराउनुपर्ने छ । विवाह, व्रतबन्ध, पाठ पूजा, मृत्यु संस्कार आदीमा पनि २५ जना भन्दा बढी भेला हुन् बन्देज गरिएको छ ।

जिल्लाभर सार्वजनिक सेवा लिँदा कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने छ ।

सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्नेछ भने सिट क्षमता भन्दा बढी यात्रु बोक्न निषेध गरिएको छ ।

सवारीसाधनमा लामो दुरीको यात्रा गर्दा तथा हवाई जहाजबाट यात्रा गर्दा खोप कार्ड अथवा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश ।

मिति २०७८/१०/०३ गते

कोभिड-१९ (कोरोना भाइरस) को नयाँ भेरियन्ट (अमिक्रोन) सहितको संक्रमण मुलुकमा तीव्र रुपमा फैलिरहेको अवस्था र कास्की जिल्लामा कोभिड संक्रमणको दर (Positivity Rate) पचास प्रतिशत माथि रहेको सन्दर्भमा सो को प्रभाव रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०९/३० को निर्णय तथा जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (DCMC) को मिति २०७८/१०/०३ गतेको बैठकको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम मिति २०७८/10/0३ गते देखि अर्को आदेश जारी नभए सम्मका लागि कास्की जिल्लाभर लागू हुने गरी देहाय बमोजिम आदेश जारी गरिएको
छ।

देहाय :

१. देहायका सेवा तथा कार्यहरु मिति २०७८ माघ १५ गतेसम्म सञ्चालन नगर्ने नगराउने :

क. सिनेमा हल,पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, व्युटीपार्लर र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम,

ख. विद्यालय, विश्व विद्यालय, कलेज, टयूशन सेन्टरहरुबाट भौतिक उपस्थितिमा सञ्चालन हुने तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु,

२. देहायका सेवा तथा कार्यहरु २०७८ माघ मसान्त सम्म सञ्चालन नगर्ने नगराउने :

क. सबै प्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलापहरु,

ख. जिल्लामा रहेका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रथना बाहेकका क्रियाकलापहरु,

३. जिल्लास्थित सेवाप्रदायक निकायहरुले सेवा प्रवाह गर्दा सेवाग्राहीहरुले अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउने (खोप कार्डको मोवाइलमा फोटो भए पनि हुने ) व्यवस्था अनिवार्य रुपमा लागू गर्ने साथै सेवा प्रदायक निकायहरुले आफ्‍नो हाताभित्र भएको खुल्ला स्थानको अधिकतम उपयोग गरी सकेसम्म खुल्ला स्थानबाट सेवा प्रवाहको व्यवस्था मिलाउने ।

४. सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसलहरु एक पटकमा पच्चीस जना भन्दा वढि हुन नहुने, कुनै पनि सामानहरु अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको विचमा कम्तिमा दुई मिटरको दुरी कायम गर्ने, मास्कको अनिवार्य उचित प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग लगायतका तोकिएका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी गराइ सञ्चालन गर्ने ।

५. रङ्गशालामा दर्शक सहित नगरी नहुने पूर्व निर्धारित खेलकूदका कार्यक्रमहरु गर्दा एक पटकमा कुल क्षमताको एक-तिहाई मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने ।२०७८ माघ ०३ गते पश्‍चात त्यस्ता खेलकुद कार्यक्रममा खोपको मात्रा पूरा गरेका व्यक्तिहरुलाई मात्र खोप कार्डको आधारमा रङ्गशाला प्रवेश गर्न दिने ।सकभर दर्शक विहिन रुपमा खेलकुद कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।

६. धार्मिक वा सास्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतवन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सास्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने गरी तोकिएका जनस्वास्थ्यका मापदण्डहरुको पालना गरी परिवारमा मात्र सीमित भएर सञ्‍चालन गर्ने गराउने ।

७. सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा देहाय बमोजिम गर्ने :

क. सिट क्षमता भन्दा बढी यात्रु नराख्‍ने,

ख. सबै यात्रु र कर्मचारीहरुले मास्कको प्रयोग गर्ने गराउने ,

ग. सावरी साधनको ढोकामा र सवारी साधन भित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,

घ. सहचालकले अनिवार्य रुपमा मास्क र फेस-सिल्ड लगाउनु पर्ने ,

ङ. सवारी साधनलाई दैनिक रुपमा निसंङक्रमित गर्नु पर्ने,

च. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले वढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउने,

छ. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिने,

ज. कास्की जिल्लाबाट प्रस्थान विन्दु भई वा कास्की जिल्ला गन्तव्य स्थान भई सञ्चालन हुने लामो दुरीका सार्वजनिक यातायातहरुले बीचबाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्य देखि अन्तिम गन्तव्य सम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण तयार गरी शुरु गन्तव्य र अन्तिम गन्तव्यको ट्राफिक प्रहरी कार्यालय मार्फत जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने,

झ. लामो दूरीका सवारी साधन वा हवाईजहाजबाट यात्रा गर्नु पूर्व खोप कार्ड वा कोभिड-१९ को नेगेटिभ रिपोर्ट भएको प्रमाण आफ्‍नो साथमा राख्‍ने र सो अनुरुप मात्र यात्रा अनुमति दिने,

८. होटेल तथा रेष्टुरेण्ट देहाय बमोजिमका मापदण्डहरुको पालना गरी सञ्चालन गर्ने :

क. होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, फेस-सिल्ड र पञ्जा लगाउने,

ख. होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीहरुलाई अनिवार्य रुपमा मास्कको उचित प्रयोग गर्न लगाउने,

ग. कूल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने,

घ. होटेल तथा रेष्टुरेण्टहरुमा प्रत्येक टेवल तथा कोठामा सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,

ङ. होटेल तथा रेष्टुरेष्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नु पर्ने,

च. २०७८ माघ ०३ गते पश्‍चात खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीहरुलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने,

छ. जिल्लामा सञ्चालित होटेलहरुले कोभिड विरुद्धको खोप लगाएको कार्ड वा २४ घण्टा भित्रको एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट लिई आएका सेवाग्राहीहरुलाई मात्र चेक-इन गरी सोको विवरण अद्यावधिक गरी राख्‍ने,

ज. सबै प्रकारका रेष्टुरेण्ट सञ्‍चालन गर्दा बाजागाजा (Live Music) बजाउने कार्य पूर्ण रुपमा रोक्‍का गरी राती १०:०० बजे सम्म मात्र सञ्‍चालन गर्न सकिने,

९. नेपाल राष्ट्र बैंकले सबै बैङ्क तथा वित्तीय संस्थाहरुमा सेवा तथा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गर्ने ।

कोभिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायहरुबाट नियमित तथा आकस्मिक अनुगमन गरिने छ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।

प्रतिक्रिया