नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन तस्करीमा संलग्न रहेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल भन्सार कार्यालयले रेग्मीले २०७४ पुस ७ गते कतार एयरलाइन्सको उडानबाट नेपाल आउँदा तीन वटा बिस्कुट आकारको ३० ग्राम सुन चोरी पैठारी गरी ल्याएको भेटिएपछि उनी पक्राउ नै परेका थिए ।
विमानस्थल भन्सार कार्यालयले रेग्मीबिरुद्ध २०७४ पुस ७ मा मुद्दा दर्ता गरेको थियो । रेग्मीले भन्सार ऐन २०६४ को दफा २ (च) दफा ५७(१) को कसुर अपराध गरेकाले उनलाई बिगो बमोजिम रु. एक लाख ४० हजार छ सय ८५ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । रेग्मीले सुन चोरी पैठारी गरेकाले उनलाई जरिवाना गर्ने फैसला विमानस्थल भन्सार कार्यालयले २०७७ भदौ २१ मा गरेको थियो ।

विमानस्थल कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २०७८ पुस २९ मा खुलाई पठाएको छ । सुनतस्करीमा जरिवाना ठहर भएका सीईओ रेग्मीको पद स्वतः निलम्बन भएको छ । उनले गएको मंसिरमा लण्डनबाट फर्किने क्रममा विमानस्थलमा मदिरा ल्याउन नदिएको भन्दै कर्मचारी कुटेका थिए ।
रेग्मीलाई पर्यटन मन्त्रालयको छानबिन समितिले निलम्बन गरेपछि उनी सर्वोच्च अदालतमा रिट दायर गरी अन्तरिम आदेशका आधारमा सीईओको कामकाज गर्दैआएका छन् । सुनतस्करीमा जरिवाना नै ठहर भएका रेग्मीको पद अब नरहने भएको छ ।