मिडिया अवार्ड वितरणको विषयलाई लिएर पत्रकार महासंघको बैठकमा भाँडभैलो भएको छ । सो विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् ।
बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्य छन् । उनीहरुले तीन पेजमा आफ्नो धारणा सार्वजनिक गर्दै मिडिया अवार्ड र आर्थिक अपचलनबारे जवाफ नदिएसम्म बैठक बस्न नसक्ने बताएका थिए।
कपिलबस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा उनीहरुले मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै सहभागी भएको, महासंघमा आर्थिक पारदर्शिता नभएको, श्रमजीवी पत्रकारहरुको मुद्दालाई बेवास्ता गरिएको लगायतका विषयलाई उठाएका थिए ।
उनीहरुले बैठकमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको कार्यशैलीप्रति प्रश्न उठाउदै अध्यक्ष पोखरेलमाथि मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग गरेको, तथा अध्यक्ष नै जथाभावी आर्थिक संकलनमा लागेको र विवादित कार्यक्रममा अध्यक्ष सहभागी भएको आरोप लगाएका थिए।
साथै उनीहरुले ती घटनाको छानविन गर्न माग समेत गरेका थिए ।
यसैबीच महसंघका उपाध्यक्ष बाला अधिकारीले काँग्रेस केन्द्रीय सदस्यका लागि महासंघबाट राजीनामा दिने घोषणा गरेपनि बैठकमा सहभागी भएपछि केन्द्रीय सदस्यहरुले आपति जनाए ।
बैठक बहिष्कार गरेर बाहिरिएका उनीहरुलाई महासंघ नेतृत्वले माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले उनीहरु बैठकमा सहभागी भएको केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले जानकारी दिए ।