आगामी वैशाखमा स्थानीय तहको चुनाव गराउने तयारी गरिरहेको निर्वाचन आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसंग आग्रह गरेको छ।
आयोगले आयोजना गरेको सर्वदलीय बैठकमा सरकारसंग आयोगका पदाधिकारीहरुले त्यस्तो आग्रह गरेका हुन्। उनीहरुले वैशाखमा चुनाव गराउन बेलैमा निर्णय लिए तयारीका लागि समय पुग्ने भएकाले अहिले जरुरी रहेको बताए।
आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको आयोगले शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफल गरेको थियो । आयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताए ।
निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको भनिएको निर्वाचन आयोगले अहिले मतदाता नामावली संक्लन कार्यलाई तीव्रता दिई रहेको छ । आयोगले वैशाख १४ गते र २२ गते दुई चरणमा स्थानीय तहको चुनाव गरौं भनि बैठकमा प्रस्ताव गरेको छ ।
यसैबीच निर्वाचन आयोगले सोही बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा सात बुँदे प्रस्ताव राखेको छ । बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ ।
बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जनाएको छ । त्यसका लागि ५३२ जना प्रदेशसभा सदस्य र १४९३ जना गरी कुल २०२५ मतदाताले निर्वाचनमा भाग लिने आयोगले जनाएको छ । राष्ट्रियसभामा १९ पदका लागि निर्वाचन हुँदैछ ।


