बिप्लव प्रचण्डकै बाटोमा लागे, पार्टी एकीकरण हुन्न : मोहन बैद्य ‘किरण’

बिप्लव प्रचण्डकै बाटोमा लागे, पार्टी एकीकरण हुन्न : मोहन बैद्य ‘किरण’


  • जन संचार
  • मंगलबार, २७ पुष २०७८
  • 3.6K
    Shares

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायत पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरूबीच एकताको सम्भावना नरहेको बताएका हुन् ।

क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्नुपर्ने आबश्यकता औल्याएका नेता बैद्यले पत्रकार सम्मेलनमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता सम्भव नभएको स्पस्ट पारे ।
प्रचण्डले पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्दै आएको तर पछिल्लो समय आफूहरूले एकताको प्रयास नै नगरेको उनले बताए । माओवादी केन्द्रले आफूलाई संविधानको असली संरक्षकका रुपमा प्रस्तुत गरेको, तर आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने उल्लेख गरे।

प्रचण्डको पछिल्लो दस्तावेजमा पनि संसदमा जानु, सेना समायोजनमा जानु गल्ती भयो नभनेको, बरु विद्रोहको कुरा गर्नु गल्ती भयो भनेको भन्दै क्रान्तिकारी माओवादीका महासचिव बैद्यले अघि भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ, उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन । हाम्रो पार्टी एकता सम्भव छैन ।’

विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको बताए । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको उनले स्मरण गरे । पछिल्लो समय त जनमत संग्रहबाट समाजवाद ल्याउने कार्यदिशा अगाडि सारेको भन्दै बैद्यले भने, ‘प्रचण्डजीहरूले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवजीहरुले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक भयो र ?’ अघि भने, ‘प्रचण्डकै बाटोमा गइहाल्यो भने त नभनौं, तर त्यतै सोझिनुभयो भन्ने लागछ ।’

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले एउटा खुट्टा संघर्षको मैदानमा र अर्को खुट्टामा सरकारतिर राखेकाले एकता सम्भव नभएको उनले बताए । क्रान्तिकारी माओवादीका महासचिव बैद्यले भने, ‘अब ध्रुवीकरणका सम्भावना हुनसक्छ । अवसरवादीहरू एकातिर, सच्चा क्रान्तिकारीहरू अर्कोतिर नयाँ ढंगले पार्टी एकताको ढोका खुल्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया