नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारयणकाजी श्रेष्ठ ‘प्रकाश’लाई कोरोना संक्रमण भएको छ । शुक्रबार साँझ गरिएको कोरोना परीक्षणमा अध्यक्ष ‘प्रचण्ड’ र श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्यमा केही असहजता भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको अध्यक्ष प्रचण्डको सचिावलयले जनाएको छ । रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्यस्थिती भने सामान्य रहेको बताइएको छ । उता नेता श्रेष्ठको पनि संक्रमित भएपछि आइसोलेसनमा बसिरहेका छन्।
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनपपछि माओवादीका धेरै नेताहरुलाई कोरोना संक्रमण भएको अनुमान गरिएको थियो । कोरोना संक्रमण भएपछि अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुमा सतर्क रहन र स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन्।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोरानाको लक्षण देखिएको छ । महाधिवेशनबाट फर्किएकाहरु धमाधम अस्वस्थ हुन थालेपछि पार्टीको केन्द्रीय समिति बैठकलगायत सबै गतिविधि बन्द भएका छन् ।
माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो । प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ ।
माओवादी अध्यक्षमा पुनः निर्वाचित भएका प्रचण्डलाई बधाई दिन जानेहरु अधिकांशमा संक्रमण भएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि संक्रमित भएका छन् ।
प्रचण्डलाई बधाई दिन गएका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, वाइसिएल नेता तथा हाल केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डेलगायत अधिकांश संक्रमित भएका छन् ।
त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहमा पनि संक्रमण देखिएको छ । नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायमा पनि संक्रमण पुष्टि भइसकेको छ । यो संख्या अझ बढिरहेको छ ।
महाधिवेशनबाटै संक्रमण फैलिएको आशंका गरिएको माओवादीका एक नेताले बताएका छन् । सबै नेताहरुमा एकै खालको लक्षण देखिएको छ । माओवादीले आन्तरिक रुपमा सबैलाई परीक्षण गर्न सुझाएको छ