नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन सुरु गरिएको छ । सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका थिए । शुक्रबार नै सो भौतिक संरचना भत्काउन सुरु गरिएको हो ।
शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी शप भत्काएको हो । समितिले बाहिरबाट मजदूर बोलाएर सो संरचना भत्काएको समिति स्रोतले जनाएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काएर सकिएको छ ।
बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास विनै बनाएको सो संरचनालाई नारायणहिटी दरबार संग्रहालयले समेत अनदेखा गरेर बसिरहेको थियो । सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मन्त्रीको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै सो संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो ।
बताससँग कफी शप राख्ने विषयमा भएको सम्झौताबारे छानबीन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिले तीन दिनभित्र प्रतिवेदन दिने बताइएको छ ।
यसैबीच प्राप्त जानकारी अनुसार, तीर्थयात्री बस्न बनाएको पशुपति धर्मशालामा बतास समूहले आफ्नो व्यापार स्थल बनाएको विषयमा छानबीन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गठन गरेको छ ।
शुक्रबार मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को बैठकले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको सञ्चालक परिषद् सदस्य एवं छानबीन समितिकी सदस्य आशा पाण्डेले जानकारी दिइन् ।
समितिमा कोषका सञ्चालक परिषद् सदस्यहरु आशा पाण्डे, जयकिरण जैन र देवीप्रसाद बराल छन् भने मन्त्रालयको लेखा शाखाका उपसचिव सूर्यमणि गौतम सदस्यसचिव रहेको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार समितिलाई धर्मशाला करारमा दिंदादेखि हालसम्मको सबै प्रक्रिया कानूनसम्मत भए–नभएको बारेमा सत्यतथ्य पत्ता लगाउन भनिएको छ ।
समितिलाई सातदिन भित्र छानबीन गरी प्रतिवेदन दिन भनिएको छ । तर शुक्रबार पत्र नपाइएकोले पत्र पाएपछिको एक सातामा प्रतिवेदन बुझाइने पाण्डेले जानकारी दिइन् ।
भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ । यो धर्मशालामा महँगो होटल मात्रै नभएर बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।
बतास अर्गनाइजेसन त्यही समूह हो, जसले नारायणहिटी दरबार संग्रहालयभित्र सस्तोमा जग्गा भाडामा लिएर रेस्टुरेन्ट बनाएपछि विवादमा तानिएको छ । यो समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । २०७५ सालमा कोषका तत्कालीन सदस्यसचिव डा.प्रदीप ढकालले मिलेमतो गरेर बतास समूहलाई ठेक्का दिलाएका थिए ।