ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको स्वास्थ्य मन्त्रालयको संकेत

ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको स्वास्थ्य मन्त्रालयको संकेत


  • जन संचार
  • शुक्रबार, २३ पुष २०७८
  • 5K
    Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको पुष्टि गरेको छ । यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि गरेको मन्त्रालयले आज थप भएको २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको छ । यससंगै मन्त्रालयले शुक्रबार ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको प्रष्ट संकेत गरेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका एकहजार एकसय ४६ नमुना संकलन गरिएको थियो । त्यसको एसजिन स्क्रिनिङ गर्दा दुइसय ५० वटा अर्थात २२ प्रतिशत नमुनामा एसजिन नेगेटिभ आयो । एसजिन नेगेटिभ आएका दुइसय ५० मध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमुनामा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ । अर्थात एसजिन नेगेटिभ आएका बाँकी दुइसय २६ नमुनामा पनि ओमिक्रोन भेरियन्ट छ ।

पछिल्लो दुई महिनामा एसजिन नेगेटिभ आएका सबै २७ वटा नमुनामै ओमिक्रोन भेटिएको छ । यसरी हेर्दा दैनिक पहिचान भएका संक्रमितमध्ये चार भागको एक भागमा ओमिक्रोन भेरियन्ट छ भनेर सहजै अनुमान गर्न सकिन्छ । यसले समुदायमा ओमिक्रोन भेरियन्ट पुगिसकेको बुझाउने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार अब संक्रमण अझ बढ्नसक्छ । ‘अबको केही हप्तामा ओमिक्रोनका संक्रमितको संख्या बढ्दै जान्छ,’ डा. बाँस्तोला भन्छन्, ‘एक महिना भित्रमा डेल्टा भेरियन्टको ठाँउ ओमिक्रोनले लिन्छ ।’

प्रतिक्रिया