नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् । अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयका एकजनालाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष प्रचण्डले तीन दिनदेखि प्रत्यक्ष भेटघाट र संवाद बन्द गरेका हुन्।
बिहीबार नोटिस जारी गर्दै प्रचण्डको स्वकीय सचिवालयले अब पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्ने जानकारी दिएको छ ।
त्यस नोटिसमा ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं ।” भनिएको छ।
प्रत्यक्ष भेटघाट रोकिएकोमा अध्यक्ष प्रचण्डको सचिवालयले क्षमा माग्दै कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्ने” प्रतिबद्धता व्यक्त गरिएको छ।